चितवन — विशेष गरेर मुसाको शरिरमा बस्ने किर्नाले टोक्दा हुने स्क्रब टाइफस रोग चितवनमा बढेको छ । पाँच दिनको फरकमा भरतपुरको सरकारी अस्पतालले दुईपटक सूचना निकालेर स्क्रबको फैलावट प्रति सजग रहन अपिल गरेको छ ।आइतबार अस्पतालले निकालेको सूचनामा डेंगी तथा स्क्रब टाइफस लगायतका बिरामीको चापले अस्पतालको मेडिकल वार्डका ५२ बेड र अब्जरभेसन वार्डका सबै १२ बेड भरिएको उल्लेख छ ।
‘आकस्मिक कक्षका ३५ बेड पनि सधैं लगभग भरिएका हुन्छन् । त्यसैले अवस्थालाई बुझिदिनुहुन अनुरोध छ,’ अस्पतालले सूचनामा भनेको छ । अस्पतालले असोज २५ गते मंगलबार प्रेस विज्ञप्ती नै निकालेर ज्वरोका बिरामीहरुमा स्क्रब टाइफस रोग पनि देखिएको हुँदा यो रोगबाट जोगिन अपिल गरेको थियो । प्रायः बिरामी रोग लागेको हप्ता दिनपछि अस्पताल आएको र उनीहरुमा जटिल लक्षणहरु देखिएको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालमा मात्रै नभएर स्क्रब चितवनमा नै बढ्दो छ । चितवन स्वास्थ्य कार्यालयका सूचना अधिकारी रहेका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार साउन यता शनिबारसम्म २८४ जनामा स्क्रब देखिएको छ । भरतपुर अस्पतालमा बुधबार ७५ जनामा परिक्षण गर्दा १२ जनामा डेंगी पत्ता लागेको थियो । त्यसै गरी त्यो दिन ६२ जनामा परीक्षण गर्दा १० जनामा स्क्रबका बिरामीहरु पत्ता लागेको भरतपुर अस्पतालका प्रवक्ता वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा।गोविन्द कँडेलले बताए ।
‘काठमाडौं लगायतका ठाउँमा डेंगीको महामारी छ । तर हाम्रो अस्पतालमा एक महिनाअिघसम्म डेंगीका बिरामी खासै थिएनन् । तर स्क्रब टाइफसका बिरामीहरु प्रशस्तै थिए । अहिले पनि अवस्था खासै फरक नभएको हुँदा सचेत हुन आवश्यक छ,’ डा। कँडेलले भने । दसैंका बेला परेको पानीका कारण अचेल डेंगीका बिरामी पनि पहिलाभन्दा केही बढेको र स्क्रबका बिरामी पनि आइरहेको उनले बताए ।