रौतहट,१६ असोज
नेकपा एमालेको नजिकदै गरेको मधेश अधिवेशनको लागी रौतहट जिल्लाबाट प्रतिनिधि चयन कार्य मंगलबार सम्पन्न भएको छ । रौतहटको १८ वटै पालिकामा सर्वसहमत रुपमा प्रतिनिधि चयन कार्य सम्पन्न भएको हो । आउदो असोज २३ र २४ गते हुने मधेश प्रदेश अधिवेशनमा रौतहटबाट ८८ जना प्रतिनिधि चयन भएको नेकपा एमाले रौतहट जिल्ला कमिटिका संयोजक सचितानन्द साहले जानकारी दिएका छन । रौतहटमा सबैभन्दा बढी चन्द्रपुर नगरपालिकाबाट १२ जना प्रतिनिधि चयन भएको संयोजक साहले बताए । संयोजक साहले दिएको जानकारी अनुसार गौर,इशनाथ,बौधीमाइ,मौलापुर,फतुवा बिजयपुर,कटहरिया,देवाही गुनाही,गढीमाइ,बृन्दावन,गुजरा,परोहा,राजपुर नगरपालिका तथा यमुनामाइ र दुर्गाभगबती गाउपालिकामा ३÷३ जना प्रतिनिधि चयन भएका छन ।
यसैगरी चन्द्रपुर नगरपालिकामा १२ जना गरुडा नगरपालिकामा ५ जना,राजदेबी नगरपालिकाबाट ४ जना र माधब नारायण नगरपालिकाबाट ५ जना प्रतिनिधि चयन भएको संयोजक साहले जानकारी दिए । यस्तै दलित कलष्टरबाट ८ जना,मुस्लीमबाट ८ जना र जनजातीबाट ४ जना मधेश प्रदेश अधिबेशनको लागी प्रतिनिधिमा सर्वसहमत चयन भएको उनले बताए ।
यसैबिच यसबर्ष मात्रै नेकपा एमालेको पार्टी सदस्यता २ हजार ७ सय ९७ जनाले लिएको समेत उनले जानकारी दिएका छन । पुरानो १ हजार २ सय ९९ जनाले नबिकरण गरेको समेत गरेर रौतहटमा हाल ४ हजार ९६ जना पार्टी सदस्य रहेको उनको भनाइ रहेको छ । पार्टी सदस्यता लिने साथीहरुको माग बढिरहेको र त्यसको लागी पार्टी सक्रिय भएर लाग्ने समेत उनले बताए ।