रौतहट,२८ असोज
चन्द्रनिगाहपुर सिटी जेसिसको आयोजनामा साहित्यसँग जेसिस कार्यक्रम सम्पन्न भएको छ । सो साहित्य कार्यक्रममा चर्चित कवि मनु मञ्जिल र गजलकार प्रदिप ’रोदन’ले आफ्ना चर्चित रचनाहरू वाचन गर्नुभएको थियो। उहाँहरुको रचनामा कार्यक्रममा उपस्थित श्रोताहरु निकै उत्साहित देखिएका थिए । कवि मनु मञ्जिलले आफ्नो ठाउँमा निकै समयको अन्तरालमा साहित्य कार्यक्रम उपस्थित हुन पाउँदा निकै खुशी लागेको बताउँदै चन्द्रपुर साहित्यको उर्भर भूमि रहेको स्मरण गरे । उनले साहित्यले चन्द्रपुरलाई विश्वमा चिनाउन मद्दत गर्ने भन्ने नव साहित्यकारलाई मेहनतका साथ निरन्तर लाग्न सुझाए । गजलकार रोदनले चन्द्रपुरमा साहित्य प्रेमीहरु देखेर निकै उत्साहित भएको चर्चा गर्दै चन्द्रपुरको माया सदैव आफ्नो मन मुटुमा रहिरहने बताए ।
कार्यक्रममा कबि मनु मञ्जिल , प्रदिप रोदन, डा. शालिग्राम शर्मा, अनन्त कोइराला, माधव काफ्ले र हरिकृष्ण काफ्ले र चन्द्रपुरका नगर प्रमुख संजय काफ्लेलाई सम्मान गरेको कार्यक्रम संयोजक श्यामहरि चौलागाईले जानकारी दिए । चन्द्रपुरका साहित्य मनहरुलाई सम्झेर चन्द्रनिगाहपुर सिटी जेसिसले यो कार्यक्रमको आयोजना गरिएको बताए । उनले चन्द्रनिगाहपुर सिटी जेसिसले सदैव सामाजिक कार्यहरु गर्दै आइरहेको स्मरण गर्दै उनले युवालाई सामाजिक क्षेत्रमा ल्याउन जेसिस लागिरहेको बताए । चन्द्रपुर नगरपालिकाको सहयोग तथा चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा आईतबार साहित्य कार्यक्रम भएको हो । चन्द्रनिगाहपुर सिटी जेसीजका अध्यक्ष चिरन्जीवी गौतमले लामो समय देखि यस क्षेत्रमा साहित्यका कार्यक्रम नभएको उल्लेख गर्दै यो कार्यक्रमको आयोजना गरिएको बताएका छन । चाड पर्वको अवसर अर्थात घटस्थापनाको दिन पारेर साहित्यिक कार्यक्रमको आयोजना गरेको उनको भनाई छ । यसअघि जेसिज सप्ताह अन्तर्गत चन्द्रनिगाहपुर सिटि जेसिजले विभिन्न कार्यक्रम गरेको थियो । जेसीज भनेको १८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने संस्था हो । जेसीजले आफना सदस्यहरुलाई उपयूक्त अवसरहरु उपलब्ध गराएर उनीहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई तिनिहरुको व्यक्तित्वको विकास गरी नेतृत्व दिन सक्षम बनाई एक असल नागरिक बनाउने गर्दछ ।