हेटौंडा–१० मा सेवासुबिधामा एकद्वार प्रणाली

    0
    709

    हेटौंडा–सत्ता गठबन्धनबाट हेटौंडा–१० मा वडाध्यक्ष उम्मेद्वार रमेशध्वज कार्कीले वडा कार्यालयबाट प्रदान गर्ने सेवासुबिधा एकद्वार प्रणालीबाट प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को गठबन्धन रहेको वडामा कांग्रेसका तर्फबाट उम्मेद्वार कार्कीले आफूहरु विजयी भएपछि वडा कार्यालय भवनमा स्वास्थ्य केन्द्र, सूचना केन्द्र र सेवाकेन्द्र स्थापना गरी एकद्वार प्रणालीबाट वडाले प्रदान गर्ने सेवा सहजरुपले प्रदान गरिने बताए ।

    कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच चुनावी तालमेल रहेको वडामा वडाध्यक्षमा कार्कीसँगै महिला वडा सदस्यमा सुशीला पौडेल, दलित महिला सदस्यमा शान्ति बिश्वकर्मा, वडा सदस्यद्वयमा देवलाल श्रेष्ठ र केशब लामा उम्मेद्वार छन् ।

    गठबन्धनका तर्फबाट जारी प्रतिवद्धतापत्रमा सामाजिक सुरक्षाभत्ता घरघरमा पुर्याइनुका साथै ज्येष्ठ नागरिक र लक्षितवर्गलाई स्वास्थ्यसेवा घरदैलोमा पुर्याउने प्रतिवद्धता उल्लेख छ । वडामा रहेका सडकहरु दुरावस्थामा रहेको भन्दै अध्यक्ष उम्मेद्वार कार्कीले टीसीएन रोड, बाइपासरोड, बसपार्क जाने सडकलगायत मुख्य बजार क्षेत्रको सडकको स्तरोन्नति र सहायक सडकहरुको कालोपत्र र ढलान गर्ने जानकारी दिए ।

    उनले हेटौंडा बसपार्कले हेटौंडा कस्तो छ भन्ने पहिचान र परिचय दिने भएकाले बसपार्क क्षेत्रको सडकको स्तरीकरण, फोहोरमैलाको व्यवस्थापन गर्दै बसपार्क क्षेत्रको सौन्दर्यीकरणका लागि योजना बनाइने बताए । हेटौंडा–१० मा रहेको बनविज्ञान क्याम्पस र यसले आगटेको बनक्षेत्र नगर र जिल्लाकै सौन्दर्य, गौरव र प्रतिष्ठा भएकाले यसको संरक्षणसँगै क्याम्पसको बनक्षेत्रमा रहेका बन्यजन्तुहरु पछिल्लो समय मारिने र जोखिममा पर्ने क्रम बढ्दै गएकाले संरक्षणका लागि तारजाली र पर्खाल निर्माणलगायत विशेष योजनासहित पहल र सहयोग गरिने वडाध्यक्ष उम्मेद्वार कार्कीले बताए ।

    वडा भएर बग्ने राप्ती र कर्रा खोलाको प्रदुषण न्यूनीकरण गर्न अभियान सञ्चालन गर्ने, तरकारी बजार, खसी बजारलगायत बसपार्कलाई व्यवस्थित गर्ने, ज्ञानदा माध्यमिक विद्यालयमा कम्युटर शिक्षाका लागि आर्थिक सहयोग गर्ने र प्राविधिक विषय अध्यापनका लागि पहल गर्ने तथा राप्ती र कर्रा नदी तटमा तटीय नदी निर्माण र विस्तार गर्न पहल गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

    भुटनदेवी मन्दिर र गारेक्षेश्वर धाम क्षेत्रलाई धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, राप्तीतटमा रहेका विद्युतीय शवदाह गृह सञ्चालनमा वडाको साझेदारीका लागि पहल गर्ने, शव विसर्जनका लागि आवश्यक पर्ने दाउरा आपूर्तिमा वडाले सहयोग गर्ने, न्युरेनी बस्तीलाई व्यवस्थित गर्न आवश्यक पहल र सहयोग गर्ने, गोरक्षेश्वरमा रहेको सँस्कृत विद्यालयको सबलीकरण र व्यवस्थापनमा सहयोग गर्ने र वडाका सूचनाहरुलाई विद्युतीय माध्यमबाट प्रवाह गर्ने व्यवस्था गरिने गठबन्धनको प्रतिवद्धतापत्रमा भनिएको छ ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here