हेटौंडा/हेटौंडा–13 स्थित पदमपोखरीमा रहेको त्रिवेणी कृषि सहकारी संस्था लिमिटेडले नयाँ प्रविधिको मकै उत्पादन गर्दै आएको छ । पराम्परागत्ढंगले मकै उत्पादन हुँदै आएको स्थानमा सहकारीले नयाँ जातको मकै फरकढंगले उत्पादन गरिरहेको जनाइएको छ । मकै गोड्नु नपर्ने, बारीमा मकै छर्दा एक पाथीले पनि नपुग्ने मकैको विउ थोरैले पुग्ने गरी नयाँ तरिकाले रोप्ने गरेको सहकारीले जनाएको छ ।

कृषि ज्ञानकेन्द्र प्रमुख युवराज पाण्डेले मकै ब्लक कार्यक्रम दुई वर्षसम्म सञ्चालन गर्ने जनाए । कृषि ज्ञानकेन्द्र चितवनको २५ लाख र सहकारीको २५ लाख गरी ५० लाखको आयोजना भएको कार्यक्रम आगामी आर्थिक वर्ष २०७९÷०८० मा सञ्चालन गरिने जनाएको छ ।

कृषि ज्ञानकेन्द्रले विशेषगरि उन्नत जातका मकैका विउ प्रर्वद्धन गर्ने र हाइब्रीड जातका मकैका विउ प्रोत्साहन गर्ने गरेको र स्वीट कर्नको कार्यक्रम पनि ल्याएको जनाएको छ । कार्यक्रममा त्रिवेणी सहकारीअन्तर्गत् १ हजार ५ सय भन्दा बढी कृषकको संलग्नता भएको बताइएको छ ।

कृषि ज्ञानकेन्द्र चितवन, आर्थिक वर्ष २०७८÷०७९ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत् मकै ब्लक कार्यक्रममा ५० प्रतिशत् साझेदारीमा सम्झौता भएको त्रिवेणी कृषि सहकारी संस्था लिमिटेड अध्यक्ष सुरज थिङले जानकारी दिए ।

सहकारीले कृषकहरुलाई मकैको विउविजन, विषादि र आवश्यक औजारहरु कल्टिभेटर, रोटाभेटर, ज्याप प्लान्टर, स्प्रेपम्प सहयोग गरेको जनाएको छ । नेपाली वैज्ञानिकहरुले अध्ययन÷अनुसन्धान गरेर उन्नत जातको रामपुर हाइब्रीड जातका मकै सहकारीअन्तर्गत् किसानलाई वितरण गरिएको उनले बताए । किसानलाई रैथाने जातको मकैको उत्पादन घट्दो अवस्था रहेकाले पुराना विउको ठाउँमा नयाँ विउ वितरण गरिएको छ । उक्त मकै छर्ने नभइ रोप्ने गरिन्छ । लाइनका माध्यमबाट मेसिनले रोप्ने मकै एक कठ्ठामा किलो भन्दा बढी मकैको विउ नजाने बताएको छ । रामपुर कम्पोजिट मकै एक कठ्ठामा दुई सयदेखि दुईसय पचास किलोसम्म उत्पादन हुने जानकारी दिइएको छ ।

मकै ब्लक कार्यक्रमले किसानहरुलाई राहत भएको किसान संगीता वाइबाले बताइन् । उनले पहिला मकै गोड्नुपर्ने हुँदा धेरै खेतालामा धेरै खर्च हुने गरेको उनले बताइन् । १३ नम्बर वडा अध्यक्ष पेम्बा लामाले त्रिवेणी सहकारीले सञ्चालन गरेको मकै ब्लक कार्यक्रम प्रभावकारी भएको बताए । अध्यक्ष लामाले आधुनिकीकरणअनुसार खेती र काम गर्न सहज रहेकाले राम्रो कुरालाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कृषिमा केकस्तो सहयोग गर्न सकिन्छ भनेर योजना बनाएर अघि बढिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here