रौतहट,२९ साउन
संघीय शिक्षा ऐनले शिक्षकहरुको अधिकार कुण्ठित गरेको भन्दै रौतहटको चन्द्रपुर नगरपालिका शिक्षकहरुले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन । देश ब्यापी रुपमा गरिएको केन्द्रिय सर्कुलर अनुसार चन्द्रपुर नगरपालिका भित्र कार्यरत शिक्षकहरुले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारी र नगर शिक्षा अधिकारी कृष्ण प्रसाद सिग्देललाइ ज्ञापन पत्र बुझाएका हुन ।
संघीय शिक्षा ऐनले शिक्षकहरुको अधिकार कुण्ठित गरेको र पहिले भैइसकेको ५१ बुदे र ३० बुदे सहमती बिपरित रहेको नेपाल शिक्षक संघ चन्द्रपुर नगर कमिटि अध्यक्ष मुरारी आचार्यले बताए ।
ऐन २०७४ लाई शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ खारेज नहुदै कार्यान्वयनमा ल्याउनु आपत्तिजनक भएको तथा बिधमान ऐन कानुन संग बाझिन गएको अध्यक्ष आचार्यको धारणा छ ।
संघीय शिक्षा ऐनको बिरोधमा देशैभरिका पालिकामा बिरोधका कार्यक्रमको सुरुवात गर्दै शिक्षक महासंघले बिरोधस्वरुप धर्ना सहित ज्ञापन पत्र बुझाइएको उनले बताए । सो कार्यक्रममा नगर भरीका बिद्यालयका प्रधानाध्यापकहरु त्था शिक्षकहरुको सहभागिता रहेको थियो ।
यसैबिच सो ऐनको बिरुद्ध रौतहटको १८ वटै पालिकामा बिरोधका कार्यक्रमहरु गरिएको शिक्षक संगठनका रौतहट अध्यक्ष धमेन्द्र सिंहले जानकारी दिएका छन । रौतहटको गौर,गरुडा,कटहरिया लगायत १८ वटै पालिकामा बिरोधका कार्यक्रम गरिएको छ ।
३० गते मंगलबारका दिन शिक्षा बिकाश समान्वय ईकाई कार्यालय गौरमा ३२ गते बिहीबार समाजिक बिकाश मन्त्रालयमा र भदौ १ गते शुक्रबार प्रदेश तथा संघीय संसद वा प्रदेश संसदलाई समझौताको प्रतिलिपि बुझाईने कार्यक्रम रहेको छ ।