रौतहट- आज भन्दा १८ बर्ष अघि अर्थात २०६३ चैत ७ गते गौर घटना त्यही हो, जहाँ २७ जनाको हत्या भएको थियो। तत्कालीन नेकपा माओवादी र मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच एउटै स्थानमा कार्यक्रम गर्ने हठले सो घटना निम्त्याएको थियो। जहाँ माओवादीका २७ जनाको हत्या भएको थियो ।
केही महिलालाई नाङ्गै पारेर बलात्कार गरिएको थियो। यस्तै यौन अंगमा उखुको डाँठ घोचेर यातना दिइएको, स्तन काटिएको र हत्या गरिएको प्रत्यक्षदर्शीहरुले बताएका थिए। कतिपयलाई स्थानीय बौधीदेवीको मन्दिरमा रगतको भोग दिइएको थियो ।
गौर अस्पतालले भने लास खोलेर परीक्षण नगरेको र बाहिरबाट मात्रै हेरी शव परीक्षण प्रतिवेदन फारम भरेका कारण महिलामाथि भएका भनिएका बलात्कार वा अन्य यौनजन्य हिंसाको भने औपचारिक पुष्टि भएको छैन। मृतक रेखा परियारका परिवारका अनुसार उनको लास क्षतविक्षत थियो। चिन्न सकिने अवस्था थिएन। देब्रे स्तन काटिएर छुट्टिन मात्रै बाँकी अवस्थामा थियो। विभत्स र सामूहिक नरसंहार भएको १८ वर्षमा देशमा १७ भन्दा बढी सरकार फेरिए, १२ भन्दा बढी प्रधानमन्त्री भए। नयाँ संविधान बन्यो। तर, न अपराधीलाई कारबाही भयो, न देशको सुरक्षा व्यवस्था र कानुनको सदगत गरियो।
के हो गौर हत्याकाण्ड ?
७ चैत २०६३ मा रौतहट सदरमुकाम गौरमा माओवादीका २७ जना कार्यकर्ताको निर्मम ढंगले हत्या भएको थियो । त्यस दिन तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीले एकैठाउँ आमसभा राखेका थिए । आमसभा गौरको राइसमिलमा हुँदै थिए । माओवादी दस वर्षे ‘जनयुद्ध’बाट शान्ति प्रक्रियामा आएको थोरै समय भएको थियो । मधेस आन्दोलनबाट उदाएको फोरम राजनीति आधार बनाउँदै थियो ।
उक्त आमसभामा फोरमले उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएको थियो । यादव त्यतिबेला फोरमका अध्यक्ष थिए । सभा हुने दिन बिहान ११ बजेदेखि फोरमका कार्यकर्ताहरूले लाठीसहित जुलुस निकारेर गौर नगर परिक्रमा गरे । दिउँसो २ बजेतिर माओवादीको पनि जुलुस निस्कियो । फोरम र माओवादीको जुलुस अदालत चोकनिर जम्काभेट हुँदा दुवैले एक अर्कालाई ताली बजाएर स्वागत गरेका थिए । एउटै चौरमा दुवै पक्षले १०० मिटरको दूरीमा मञ्च बनाएका थिए ।फोरमको सभा पहिले सुरु भयो । त्यतिबेला माओवादीको जुलुसले नगर परिक्रमा गरिरहेको थियो । करिब २ बजेतिर फोरमका १५–२० जनाको समूहले माओवादीको मञ्च तोडफोड गरे । आफ्नो मञ्च तोडफोड गरेको देखेपछि माओवादीका कार्यकर्ताहरूले पनि राइस मिलको चौरमा सभा सुरु भएको फोरमको मञ्च तोडफोड गर्न थाले । माओवादीको मञ्च तोडफोड हुन थालेपछि मञ्चको विभिन्न कुनाबाट गोली चलेको र बम विस्फोट भएको त्यसपछिका अध्ययन प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय मानवअधिकार आयोगले पहिलो गोली माओवादीबाट चलेको उल्लेख गरेको छ । त्यसपछि दुवै पक्षको सभास्थल रणभूमिमा परिणत भयो । त्यसक्रममा माओवादीका कार्यकर्ताहरूको क्रूर ढंगले हत्या भयो । २७ जना माओवादी कार्यकर्ताले घटनास्थलमा नै ज्यान गुमाए । जसमा ५ महिला र २२ पुरुष थिए । त्यस्तै, ५३ जना घाइते भए ।जिल्ला सदरमुकाम गौरभन्दा करिब १० किलोमिटर उत्तरतर्फ हजमिनिया गाविसअन्तर्गत पताही टोलको पूर्वपट्टि बागमती नदीको किनारसम्म भागेका माओवादी कार्यकर्तामध्ये ३ महिला र ८ पुरुषलाई पक्रेर बौद्धिमाइको मन्दिरमा ल्याई क्रूर ढंगले हत्या गरिएको आयोगको प्रतिवेदनमा छ । फोरमको मञ्चनजिक ६ जनाको हत्या भयो । तत्कालीन हजमुनिया गाविसमा ११ जना, मुडवलवा गाविस जाने बाटोमा २ जना, लक्ष्मीपुर बेलविछुवा गाविसमा २ जना तथा उपचारको क्रममा गौर अस्पतालमा ४ जना र भरतपुर लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भयो । उक्त हत्याकाण्डमा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक÷एक गरी २७ माओवादी कार्यकर्ताको हत्या भएको थियो । मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उक्त आक्रमण नियोजित र संगठित रूपमा भएको देखिएको जनाएको थियो । तीन जना महिलालाई बलात्कारपछि हत्या गर्ने क्रममा क्रूर यातना दिइएको, आगो लगाउने तथा उनीहरूको संवेदनशील अंगमासमेत प्रहार गर्ने जस्ता अमानवीय कार्य गरिएको पाइएको इन्सेकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो ।
यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम एनजीओबाट राजनीतिमा पर्दापण गर्न मधेशमा आन्दोलन अगाडि बढाइरहेको थियो । तर यसअघि यादव माओवादीको राज्य कमिटी सदस्य थिए । उनी भारतको राजधानी दिल्लीको पितमपुराबाट २३ माघ २०६० मा मात्रिका यादव र सुरेश आलेमगरसँगै पक्राउ परेका थिए ।
त्यसपछि भारतले मात्रिका यादव र सुरेश आलेमगरलाई कंचनपुरमा ल्याएर तत्कालीन शाही सेनालाई बुझायो । तर, उपेन्द्रलाई भारतमा नै राखेर पछि छोडी दियो । भारतले उनलाई विनासर्त छोडेपछि उनलाई माओवादीले आफ्नो संगठनमा राख्न चाहेन । उनी मधेशमा एनजीओमार्फत काम गर्न थाले ।
२०६३ मा अन्तरिम संविधान जारी भएपछि त्यसमा संघियता उल्लेख नगरिएकोभन्दै यादव नेतृत्वको मधेशी जनअधिकार फोरमले काठमाडौंको माइतीघरमा संविधान जलायो । त्यसपछि यादव र उनी नेतृत्वको फोरम एकाएक चर्चामा आयो । जसको पर्खाइमा यादव लामो समयदेखि थिए । उनकै नेतृत्वमा मधेस आन्दोलन भयो ।
त्यसपछि फोरमको चर्चा गौर हत्याकाण्डपछि हुन थाल्यो । गौर हत्याकाण्ड भएको एक वर्षपछि संविधानसभाको चुनाव भयो । यादवको फोरमले पनि भाग लियो । फोरमले प्रत्यक्षमा ३० र समानुपातिकमा २२ सिट जित्यो ।
पहिलोपटक माओवादीको नेतृत्वमा सरकार बन्यो । यादव पनि उक्त सरकारमा सामेल भए । यादव परराष्ट्रमन्त्री बने । त्यससमयदेखि यादवको माओवादी नेतृत्वसँग घनिष्ठ सम्बन्ध रहेको छ । यादव प्रचण्ड नेतृत्वको सरकारमा हरेकपटक सामेल हुने गरेका छन् ।
अहिलेसम्म माओवादीसँग राम्रो रहेको सम्बन्धमा सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँच बुँदे सम्झौता भएपछि पनि दूरी बढ्न थालेको छ ।
प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा गौर हत्याकाडको छानबिन गरी निचोड निकाल्ने बताएकै दिन पीडितहरू गौर हत्याकाण्डका आरोपितविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालत पुगेका थिए । उक्त हत्याकाण्डमा मारिएका रौतहट बौद्धिमाई नगरपालिका–८ का नर्मदेश्वर उपाध्यायकी पत्नी रूपसागर देवी उपाध्यायसहित पीडित परिवार सर्वोच्च पुगेका थिए ।
जसपा अध्यक्ष रहेका उपेन्द्र यादवसहित यो प्रकरणमा जोडिएका छन् । उनीलगायतविरुद्ध रौतहट प्रहरीमा कर्तव्य ज्यान मुद्दा दर्ता छ । धेरैलाई प्रहरीले फरार सूचीमा राखेको छ । १८ वर्ष लाग्दा पनि घटनाको छानबिन भएन । कारबाही त परको कुरा । पीडितले आरोपित भनेका व्यक्तिहरू मन्त्री बने । माओवादीले पनि त्यसपछि घटनाबारे खासै चासो लिएन । बरु फोरमलाई समेत पटक–पटक सत्ता सहयात्री बनायो । अहिले पनि दुवै दल सरकारमा छन् । अहिले पनि माओबादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन् ।