रौतहट,२१ साउन
मधेशी आयोगले नेपाल प्रहरी प्रधान कार्यालय र ईलाका प्रशासन कार्यालय, लहानलाई गैर–मधेशी समुदायको व्यक्तिलाई मधेशी भनी प्रमाणित गरेर मधेशी कोटामा नियुक्ति सिफारिस गरिएको घटनामा प्रश्न उठाएको छ। आयोगले सिरहा जिल्ला साविक विष्णुपुर कट्टी गा.वि.स हाल धनगढीमाई नगरपालिका–१३ का स्थायी वासिन्दा ईश्वर अधिकारीलाई २०८१ मा प्रहरी निरीक्षकको लागि मधेशी कोटामा सिफारिस गरिएको घटनाको गम्भीर ध्यानाकर्षण गरेको हो।सोमबार पठाइएको पत्रमा आयोगले “मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७८” प्रकाशित भइसकेको अवस्थामा गैर–मधेशीलाई कुन आधारमा मधेशी सिफारिस गरी मधेशी कोटामा नियुक्ति दिइएको सम्बन्धमा स्पष्ट आधार खुलाएर जानकारी गराउन आग्रह गरेको छ। आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले उक्त घटनाबारे जानकारी भएलगत्तै कारवाहीको लागि प्रक्रिया अघि बढाएको बताएका छन्। आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै गैर–मधेशीलाई मधेशी कोटामा नियुक्ति सिफारिस गर्नुले मधेशी समुदायका प्रतिस्पर्धीमाथि गम्भीर अन्याय भएको जनाइएको छ। प्रेस विज्ञप्तिमा यस्ता घटनाले मधेशी समुदायका व्यक्तिहरुको मनोबल कमजोर गर्ने ठम्याई गरिएको छ। आयोगले गैर–मधेशीलाई मधेशी भनी प्रमाणित नगर्न÷नगराउन तथा मधेशी कोटामा गैर–मधेशीलाई सिफारिस नगर्न सम्बन्धित सरोकारवालालाई सचेत गराएको छ।