रौतहट,११ असोज
रौतहटको इशनाथ नगरपालिकामा आफ्नै श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन । इशनाथ नगरपालिका नगरपालिका वाड नं. २ औरैयाका २४ वर्षिय रोशन साह सोनारलाई प्रहरीले पक्राउ गरेको हो । रोशनले आफ्नी श्रीमती २२ वर्षिया पिंकी देवीलाई मट्टितेल छर्केर आगो लगाएका थिए । गत असोज १ गते विश्वकर्मा पुजाका दिन खेतमा पानी हाल्ने पम्पको ट्याकींबाट मट्टितेल झिकेर रोशनले श्रीमती पिन्कीको शरीरमा खन्याएका थिए । घर भित्र आगो लगाएपछि बाहिरबाट ढोका चुकुल लगाएर निस्केका उनले पछि श्रीमती पिंकी कराएर गुहार माग्न थालेपछि ढोका खोलेर बचाउने नाटक गरेका थिए । “श्रीमतीलाई जलाएको आरोपमा हामीले कर्तव्य ज्यान मुद्धामा उनलाई कानूनी कारवाही अगाडी बढाएका छौं ।” जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक दिलिप घिमिरेले भने “गम्भीर घाइते महिलाको हिजो उपचारको क्रममा किर्तिपुरमा निधन भएको छ ।” ३ वर्ष पहिले २०७९ फागुनमा वैवाहिक बन्धमा बाधिएकी पिंकीको पहिलो सन्तान छोरा जन्मीएको थियो । गौर २ मा माइती भएकी उनी सुत्केरी भएको ३५ दिन पछि ससुराली घर फर्किएको दिन पछि नै उनको छोराको मृत्यु भएको थियो । “अहिले पनि पिंकी ८ महिनाको गर्भवति थिइन ।” मृतक पिंकीका काका संजय मुखियाले भने “पटक पटक घरेलु हिंसाको शिकार बनेकी उनलाई श्रीमान र उनका परिवारजन मिलेर हत्या गरे ।” ९ दिन सम्म किर्तिपुर अस्पतालमा जीवन सँग संघर्ष गरेकी पिंकीको शव उपचार खर्च बुझाउन नसक्दा अस्पतालमै रहेको संजय मुखियाले बताए ।