चन्द्रपुर,२१ माघ
रौतहटको चन्द्रपुर नगरपालिकाबाट आज मंगलबारदेखि करदाता सेवा सञ्चालनमा आएको छ । यसअघि साविक करदाता सेवा कार्यालय चन्द्रनिगाहपुरबाट प्रदान हुँदै आएको सेवा अब चन्द्रपुर नगरपालिकाबाटै उपलब्ध हुने भएको हो ।
आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख दिनेश पाण्डेले कर सेवा सञ्चालनका लागि आवश्यक जिम्मेवारी चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफ्लेलाई हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रमको उदघाटन गर्नुहुदै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले नागरिकको पहुँच र सहजतालाई ध्यानमा राख्दै पालिकाबाटै करदाता सेवा सुरु गरिएको बताउनुभयो । उहाँले सेवा प्रवाहलाई थप सरल, छरितो र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अब नगरबासीले धेरै ठाउमा गएर कर सम्बन्धी काम गर्नुपर्ने झन्भटबाट मुक्त भएको र सेवाग्राहीको समस्या सहज र सरल तरिकाले समाधान गर्न समेत कर्मचारीहरुलाइ नगर प्रमुख काफ्लेले आग्रह गर्नुभएको छ ।
शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख दिनेश पाण्डेले साबिक करदाता सेवा कार्यालयबाट प्रदान हुदै आएको सेवा चन्द्रपुर नगरपालिकाबाट प्रवाह गर्ने कार्य आज मंगलबारबाट शुरु भएको बताउनुभयो ।
उहाँले सबै स्थानीय तहका नागरिकले आफ्नै पालिकाबाट सेवा पाउने उद्देश्यले करदाता सेवा कार्यालय पालिकामै सञ्चालन गर्न थालिएको बताउनुभयो । यस कदमले करदातालाई सेवा लिन सहज हुने र राजस्व संकलनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको प्रमुख पाण्डेको भनाइ थियो ।
अब चन्द्रपुर नगरपालिकाबाट प्यान तथा भ्याट दर्ता प्रमाणपत्र जारी गर्ने, कर चुक्ता प्रमाणपत्र उपलब्ध गराउने तथा राजस्व संकलनको कार्यसमेत हुने चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत श्रीवास्तबले बताउनु भयो ।
करदाता सेवा सम्बन्धी नगरपालिकाका कर्मचारीहरुले तालिम लिएर काम शुरु गरिसकिएको समेत प्रमुख प्रशासकिय अधिकृत श्रीवास्तबले जानकारी दिनुभएको छ ।
कार्यक्रममा नगर उप प्रमुख जयमाला चौधरी,करदाता सेवाकेन्द्र चन्द्रनिगाहपुरका प्रमुख देबी बहादुर थापा,आन्तरीक राजस्व कार्यालय सिमराका कर अधिकृत दिवाकर झा,चन्द्रपुर नगरपालिकाका शाखा अधिकृत मिश्रीलाल साह लगायतको सहभागिता रहेको थियो ।
सरकारले रौतहटको चन्द्रनिगाहपुर करदाता सेवा केन्द्र र गौर करदाता सेवा केन्द्र बन्द गर्ने निर्णय गरेको थियो ।






