नेकपा एमाले रौतहट क्षेत्र नं. ४ को क्षेत्रिय भेला चन्द्रनिगाहपुरमा सम्पन्न

0
122

चन्द्रपुर,४ फागुण
रौतहटको चन्द्रपुरमा नेकपा एमालेको क्षेत्रीय भेला सम्पन्न भएको छ । रौतहट क्षेत्र नं। ४ को क्षेत्रीय भेला जिल्ला ईन्चाज अजय गुप्ताको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।सम्पन्न भेलामा जिल्लाभरिका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी निर्वाचन केन्द्रित रणनीतिका विषयमा छलफल गरिएको थियो ।कार्यक्रममा जिल्ला अध्यक्ष सचितानन्द शाह, गरुडा नगरपालिकाका मेयर कण्थमणि प्रसाद जयसवाल, चन्द्रपुर नगर कमिटीका अध्यक्ष शिव आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव बाबुराम दाहाल ले गरेका थिए ।भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अजयकुमार गुप्ताले सामाजिक सञ्जालमा देखिने गतिविधिले मात्र चुनावी परिणाम निर्धारण नहुने बताएका थिए । उनले सामाजिक सञ्जालमा लाइक, कमेन्ट र भ्यु बटुल्नेहरू त्यहीँ सीमित रहने तर वास्तविक जनाधार भूगोलमै देखिने दाबी गर्दै चारै क्षेत्रमा पार्टीका उम्मेदवार बलिया र जनआधारित भएकाले यसपटक एमालेको जित सुनिश्चित रहेको उल्लेख गरे । कार्यकर्तालाई जनताको घरदैलोमा पुगेर पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराउन उनले आग्रह गरेका थिए ।
जिल्ला अध्यक्ष सचितानन्द शाहले संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउँदै एकढिक्का भएर चुनावी अभियानमा लाग्नुपर्नेमा जोड दिए । मेयर कण्थमणि प्रसाद जयसवालले स्थानीय तहमा भएका विकास निर्माणका कामलाई जनतामाझ पुर्‍याउँदै विश्वासको वातावरण बनाउनुपर्ने धारणा राखे ।
चन्द्रपुर नगर कमिटीका अध्यक्ष शिव आचार्यले प्रतिगामी शक्तिहरूले एमालेको छवि बिगार्ने प्रयास गरिरहेको आरोप लगाउँदै भ्रम चिर्दै जनताको बीचमा पुग्नुपर्ने बताए । उनले पार्टीभित्रको एकता र सक्रियता नै आगामी निर्वाचनमा जितको आधार बन्ने उल्लेख गरे ।
कार्यक्रम सञ्चालन गरेका जिल्ला सचिव बाबुराम दाहालले चुनाव नजिकिँदै गर्दा कार्यकर्ताहरूको सक्रियता बढाउन आवश्यक रहेको बताए । उनले गाउँ–टोल, चौक–चौराहादेखि घरदैलो अभियानसम्मलाई निरन्तरता दिँदै जनसम्पर्कलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । दाहालले संगठनात्मक रूपमा सबै तहका कार्यकर्ता समन्वय गर्दै अघि बढेमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामजी शाह लाई विजयी बनाउन सहज हुने विश्वास व्यक्त गरे ।
भेला सम्पन्न भएलगत्तै नेता तथा कार्यकर्ताहरू चन्द्रपुर चौक र आसपासका बजार क्षेत्रमा पुगेर मत माग्न निस्किएका थिए । उनीहरूले सर्वसाधारण, व्यवसायी र स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गरेका थिए । नेता तथा कार्यकर्ताहरूले आगामी दिनमा गाउँ–टोल केन्द्रित अभियानलाई अझ तीव्र बनाउने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here