रौतहट,२६ चैत
वन संरक्षण र सदुपयोगको लागी दिगो वन व्यवस्थापन कार्यक्रम प्रभाबकारी बन्ने भन्दै रौतहटमा वन संरक्षणको काम अगाडी बढाइएको छ ।
डिभिजन वन कार्यालय रौतहटको आयोजनामा दिगो वन व्यवस्थापन तथा सम्वद्र्धन प्रणाली कार्यान्वयन सुदृढीकरण सम्बन्धी एक कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो ।
बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले वन स्रोतको संरक्षण, सदुपयोग तथा दीर्घकालीन उत्पादन सुनिश्चित गर्ने उद्देश्य सहित दिगो वन व्यवस्थापन सुदृढीकरण र वन संरक्षणमा दीर्घकालीन सोचमा जोड दिएको बताएका छन ।
कार्यक्रमको उद्घाटन गर्दै डिभिजनल वन अधिकृत साहले दिगो वन व्यवस्थापन वर्तमान समयको अपरिहार्य आवश्यकता भएको उल्लेख गरे ।
डिभिजन वन अधिकृत साहले वन स्रोतलाई केवल उपभोगका रूपमा नभई संरक्षण र उत्पादनबीच सन्तुलन कायम गर्दै आगामी पुस्ताका लागि सुरक्षित राख्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
दिगो वन व्यवस्थापनले जैविक विविधता संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको आर्थिक सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउने उनको भनाइ थियो ।
कार्यक्रममा वन अधिकृत अनिल कुमार महतोले दिगो वन व्यवस्थापनको अवधारणा, सिद्धान्त तथा व्यवहारिक पक्षबारे विस्तृत सहजिकरण गरेका थिए । वन अधिकृत महतोले वन व्यवस्थापनमा वैज्ञानिक पद्धति, योजनाबद्ध कटान, पुनःरोपण, वन आगलागी नियन्त्रण, जैविक विविधताको संरक्षण तथा समुदायको सक्रिय सहभागिता आवश्यक हुने बताए । साथै, दिगो वन व्यवस्थापन प्रणालीले वनबाट प्राप्त हुने काठ, दाउरा, घाँस, जडीबुटी लगायतका वनजन्य उत्पादनहरूको निरन्तर उपलब्धता सुनिश्चित गर्ने जानकारी दिए ।
त्यसैगरी, कार्यक्रममा दिगो वन व्यवस्थापन कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरू—अवैध कटानी, वन अतिक्रमण, जनचेतनाको कमी तथा स्रोत–साधनको अभाव—बारे छलफल गरिएको थियो। सहभागीहरूले यस्ता समस्याहरू समाधानका लागि स्थानीय तह, वन कार्यालय र समुदायबीच समन्वय आवश्यक रहेको औंल्याएका थिए।
कार्यक्रमको सञ्चालन वन अधिकृत माहालक्ष्मी शर्माले गरेकी थिइन । वन अधिकृत शर्माले कार्यक्रमको क्रममा सहभागीहरूलाई विभिन्न समूहगत छलफल, अनुभव आदानप्रदान तथा व्यवहारिक अभ्यासमा संलग्न गराएकी थिइन ।
गोष्ठीअन्तर्गत जिल्लामा दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएका हातेमालो, तिलेश्वर तथा भोर्लेनी सामुदायिक वन उपभोक्ता समूहमा स्थलगत भ्रमण तथा अवलोकनसमेत गरिएको थियो ।
स्थलगत अवलोकनपछि सहभागीहरूले दिगो वन व्यवस्थापनले वनको उत्पादकत्व वृद्धि, वातावरणीय सन्तुलन कायम तथा स्थानीय बासिन्दाको जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्कीले बताए ।
अनुगमन टोलीमा चन्द्रपुर ६ का वार्ड अध्यक्ष सहदेब केसी,सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष बेदहरी दाहाल,तिलेश्वार सामदायीक वन उपभोक्ता समुहका अध्यक्ष राजु धामी,हातेमालो सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रामलाल ठोकर,वन कर्मचारी,संचारकर्मी वन प्राविधिक, विभिन्न सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो ।






