चन्द्रपुर,२० मंसिर
एआईको प्रयोग सम्बन्धी १ दिने तालिम शनिवार रौतहटको चन्द्रपुर मा सुरु भएको छ ।
आम सञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना र नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको सहकार्यमा पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगसम्बन्धी एक दिने तालिम आरोही होटलमा सुरु भएको हो ।
डिजिटल युगमा सञ्चारकर्मीहरूलाई प्रविधिमैत्री बनाउँदै समाचार सङ्कलन, लेखन र प्रमाणीकरणमा एआईको उपयोगिताका बारेमा ज्ञान प्रदान गर्ने उद्देश्यले यो तालिम आयोजना गरिएको आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खरगाले बताए ।
कार्यक्रमको विषयमाथि प्रकाश पार्दै खरगाले एआईको प्रयोग अब पत्रकारिताको आवश्यकता भइसकेको धारणा व्यक्त गरे । उनले पत्रकारहरूलाई आधुनिक प्रविधि अपनाउन आग्रह समेत गरे ।नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष सञ्जयकुमार कार्कीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व केन्द्रीय सदस्य शिवपुरीले एआईको प्रयोग हामी संचार क्षेत्रमा कार्यरत रहेका संचारकर्मीहरुलाई अति नै महत्वपूर्ण रहेको चर्चा गरे ।
कार्यक्रममा प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत रंजिता साह, नेपाल पत्रकार महासंघका पूर्व शाखा अध्यक्ष शैलेन्द्र गुप्ता, तथा मधेस प्रदेश सदस्य शैलेन्द्र गुप्ताको उपस्थिति रहेको छ ।






