एमालेका उमेदवार साहको जनलहर बढदो

0
95

गरुडा,२० माघ
आउदो फागुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रौतहट क्षेत्र नम्बर ४ मा चुनावी चहलपहल निकै तातेको छ । रौतहट क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार रामजी साहले मंगलबार गरुडा नगरपालिकाको वडा नम्बर ३ मा घरदैलो तथा मतदातासँग भेटघाट गर्दै आफ्नो चुनावी प्रतिवद्धता र विकासका योजना सार्वजनिक रूपमा प्रस्तुत गरे। स्थानीय बस्ती–टोलमा गएर गरिएको प्रत्यक्ष भेटघाटमा शाहले रौतहटको वर्तमान अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै दीर्घकालीन समाधानसहितका कार्यक्रमको खाका बाँडे।शिक्षालाई विकासको मूल आधारका रूपमा प्रस्तुत गर्दै साहले रौतहट अझै पनि शैक्षिक क्षेत्रमा पछाडि परिरहेको उल्लेख गरे। विद्यालयको भौतिक संरचना, गुणस्तरीय शिक्षा, दक्ष शिक्षकको अभाव र विद्यार्थीहरूको भविष्य–उन्मुख अवसरको कमी प्रदेशकै चुनौती भएको उनले बताए। साहले आफू निर्वाचित भएमा जिल्लामा प्राविधिक र सीपमूलक शिक्षा विस्तार, सरकारी विद्यालयहरूमा आवश्यक सुधार, विद्यार्थीवृत्ति तथा शैक्षिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने उनले स्पष्ट बताए।
साहले क्षेत्रीय असमानताबारे पनि आवाज उठाएका थिए । उनले हालका धेरै उम्मेदवारहरू चन्द्रपुर नगरपालिका केन्द्रित भएकाले तल्लो भेगका बस्तीहरूको समस्या लामो समयदेखि उपेक्षित हुँदै आएको उल्लेख गरे । उनले तल्लो भेगका मतदाताको प्रतिनिधित्व कमजोर हुनु नै विकास रोकिनुको मुख्य कारण भएकाले अब आफ्नो पक्षमा एकजुट हुन आग्रह गरे।
“यो क्षेत्रको आवाज बलियो बनाउन नयाँ पुस्ताको प्रतिनिधि आवश्यक छ,” उनले भने, “तपाईंहरूले साथ दिनुभयो भने तल्लो भेगका मुद्दाहरू पहिलोपटक शक्तिका केन्द्रमा पुर्‍याउनेछु।”उनले आफू युवा, ऊर्जाशील र सक्षम उमेदवार भएको दाबी गर्दै उनले विकासमुखी राजनीतिलाई मुख्य एजेन्डा बनाउने बताए। अहिले जनताले मागिरहेको राजनीति पार्टीभन्दा पनि काम गर्ने चरित्रको भएको भन्दै साहले पारदर्शिता, जवाफदेहिता र जनतासँग नियमित संवाद राख्न आफू प्रतिबद्ध रहेको बताए । सडक, स्वास्थ्य, कृषि, रोजगार, खानेपानीजस्ता जीवनसँग प्रत्यक्ष जोडिएका मुद्दाहरूलाई राष्ट्रिय स्तरमा उठाउने र आवश्यक योजनाका लागि केन्द्र सरकारसँग दवाब सिर्जना गर्ने आफ्नो योजना रहेको उल्लेख गरे।
घरदैलो कार्यक्रममा सहभागी मतदाताले शाहसँग आफ्ना समस्या खुलेर राखेका थिए । स्थानीयहरूका अनुसार वर्षौंको उपेक्षाबाट थाकेका जनताले अब सक्षम र व्यवहारिक नेतृत्व खोजिरहेका छन्।
शाहले पनि “मत माग्न मात्र होइन, तपाईँका समस्या सुन्न आएको हुँ,” भन्दै चुनावपछि पनि जनतासँगको सम्बन्ध निरन्तर रहने आश्वासन दिए। दिनप्रतिदिन एमालेको उमेदवार साह प्रति जनलहर बढिरहेको एमालेका नेता सदरे आलमले बताउनु भएको छ । यस क्षेत्रमा कांग्रेसबाट देब प्रसाद तिमलसिना,नेकपाबाट रामकुमार भट्टराई,आजपाबाट ऋषि धमला,जसपाबाट राजकुमार दास लगायतले उमेदवारी दर्ता गराएर मत मागिरहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here