रौतहट/ एमाले प्रवेश गरेर मधेश मिडिया काउन्सीलको सदस्य पद पाएकी बन्दना झाले एमाले सम्बध प्रेस चौतारीका केन्द्रिय सदस्य बख्तियार अलीलाइ समाचार लेखेकै आधारमा र्दुब्यबहार गरेकी छिन । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अलीले स्वास्थ्य कार्यालय सर्लाहीमा अख्तियारको छापा शीर्षकमा समाचार छापेपछि नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाकी उपाध्यक्ष समेत रहेकी झाले समाचार डिलिट गर्न भन्दै दुर्व्यवहार गरेको बताएका छन ।
यस विषयमा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दै प्रेस चौतारीका केन्द्रीय सदस्य बख्तियार अलि माथि दुर्व्यवहार गर्ने बन्दना झालाई कडा कारबाही गर्न माग गरेका छन् । पत्रकार अलिमाथि नेपाल पत्रकार महासंघको जिम्मेवार व्यक्तिबाटै स्वास्थ्य कार्यालय सर्लाहीमा अख्तियारको छापा भन्ने समाचार हटाउन दिएको धम्की प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको ठहर गर्दै यस कार्यको घोर निन्दा एवं भत्सना गर्दछौं महासचिब लामाद्धारा जारी बिज्ञप्तीमा लेखिएको छ ।
समाचार लेख्ने र प्रकाशन गर्ने श्रमजीवी पत्रकारको संवैधानिक अधिकारलाई हस्तक्षेप नगर्न पत्रकारलाई निर्वाध समाचार संकलनको वातावरण बनाउन, पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गराउन ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाही गर्न समेत सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ ,बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसभन्दा पहिला पनि मिडिया काउन्सिल मधेश प्रदेशको सदस्य रहेकी बन्दना झालाई राजकुमार लेखीले कसरी सदस्यमा नियुक्ति गरे आफूहरुलाई कुनै जानकारी नभएको प्रेस चौतारी मधेश प्रदेशका अध्यक्ष शेख लालबाबुले बताए । मधेश प्रदेश सरकारका गृह तथा संचार मन्त्री राजकुमार लेखीले मिडिया काउन्सिलको सदस्यमा नियुक्त गरेर पठाएको केही दिन बित्न नपाउँदै बन्दना झाले प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बख्तियार अलीलाई समाचारको विषयमा धम्की दिने र दुर्व्यवहार गर्ने काम गरेकी हुन् ।
मन्त्री लेखीले मिडिया काउन्सिलमा हालै नियुक्त गरेका चारजनामध्ये कोही पनि प्रेस चौतारी निकटका पत्रकार नभएको र एकजना त झनै गैर पत्रकार रहेको प्रेस चौतारी मधेस प्रदेशका इन्चार्ज अच्युत पौडेलले बताएका छन् ।