रौतहट,२९ चैत
रौतहटको ग्रामिण भेगमा बैकल्पिक उर्जाको रुपमा गोबरको गुईठा प्रयोग गदै आइरहेको छ ।रौतहटको ग्रामिण भेगका नागरिकहरुले हिजोआज खाना पकाउनको लागी परम्परागत चुलोमा गुईठाको प्रयोग गर्दै आइरहेका छन ।
खास गरेर ग्रामीण क्षेत्रका गरिब, विपन्न तथा दलित परिवारहरुले परम्परागत चुलोको प्रयोग गर्दै आएका छन्।
खाना पकाउने ग्यासको अभाब तथा चर्को मुल्य पर्नेभएपछि यहाँका नागरिकहरुले चुलोमा प्रयोग गर्न गुइँठा (गोबरबाट बनेको) प्रयोग गर्दै आएका हुन् ।
वन जंगल मासिँदै जाँदा दाउराको अभाब भएपछि गाई भैँसीको गोबरबाट बनेको गुइँठालाई खाना बनाउन दैनिक रुपमा प्रयोग गर्दै आएको बृन्दावन नगरपालिका वार्ड नं. १ का अदित्य कुमार रजकले बताउनु भएको छ ।
आर्थिक अवस्था कमजोर भएका परिवारले महँगोमा ग्यास किनेर प्रयोग गर्न नसक्ने र यसलाई ल्याउनसमेत टाढा जानुपर्ने भएकोले आफूहरुले गाईबस्तुको गोबरबाट गुइँठा बनाएर प्रयोग गर्ने गरेको रजकको भनाई छ ।
गुइँठाको आगोले खाना छिटो पाक्ने र धुँवा पनि कम निस्किने भएकाले तराई–मधेशका ग्रामीण क्षेत्रमा यसको प्रयोग बढी मात्रा हुने बृन्दावन नगरपालिका वार्ड नं. ३ का प्रमोद यादबले बताउनु भयो ।
गोबरमा भुस, पराल, मकैको ठठेरो लगायतका वस्तुहरु राखेर गोबरलाई सुकाएर गुइँठा तयार पारिने जानकारी दिदै यादबले पछिल्लो समय भान्छामा यसको प्रयोग गर्नेको संख्यामा वृद्धि भएको समेत बताउनुभयो ।
दाउराको अभाव बढ्दै जाँदा यहाँका स्थानीय बासिन्दाहरूले गुइठालाई नै भरपर्दो इन्धनको रूपमा पुनः अपनाउन थालेको उहाँको धारणा छ ।
वनजंगल टाढा हुनु, पहिलाजस्तो सहज रूपमा दाउरा उपलब्ध नहुनु र बढ्दो इन्धन संकटले गर्दा पनि गुईठाको प्रयोग गर्नेको संख्या बढिरहेको यादबले बताउनुभयो ।
विशेषगरी दाउरा अभाव भएका क्षेत्रमा स्थानीयले गुइठाभित्र सानो बास वा अन्य काठ राखेर बल्ने क्षमतायुक्त ‘गुइठा दाउरा’ बनाउने र घरघरमै उपलब्ध हुने गाई–भैंसीको गोबरबाट तयार गरिने गुइठा अहिले सस्तो र सहज विकल्पको रूपमा स्थापित हुँदै गएको गढीमाइ नगरपालिका वार्ड नं. ८ का अशोक यादबले बताउनुभयो ।
गुइठा परम्परागत इन्धन मात्र होइन, अहिलेको सन्दर्भमा व्यवहारिक वैकल्पिक स्रोत पनि भएको बताउदै यसलाई व्यवस्थित रूपमा प्रवद्र्धन गर्न सकियो भने तराई क्षेत्रमा ग्यास र दाउरामा निर्भरता कम गर्न सकिने यादबले धारणा राख्नुभएको छ । सरकारले गुइठालाई दिगो इन्धनको रूपमा विकास गर्न स्पष्ट नीति तथा योजना ल्याउन सके, ग्रामीण भेगका लागि यो दीर्घकालीन समस्याको समाधान बन्न सक्ने समेत यादबले बताउनुभयो ।
यहाँ केही नगरपालिकाहरुले निशुल्क ग्याससहित चुलो नागरिकहरुलाई बितरण गरेको भएतापनि सोही नगरपालिकाका नागरिकहरुले समेत गोबरको गुईठा बनाएर बैकल्पिक उर्जाको रुपमा प्रयोग गरिरहेका छन ।
जिल्लाको मौलापुर,फतुवा बिजयपुर,कटहरिया,गुजरा,परोहा लगायतका नगरपालिकाले स्थानियलाइ ग्यास सहितको चुल्हो बितरण गरेको थियो ।
स्थानिय तहको निर्वाचनको घोषणा पत्रमा नै घर घरमा ग्यास चुल्हो प्रदान गरि धुवामुक्त गाउ बनाउने प्रतिबद्धता गरेसंगै निर्वाचित जनप्रतिनिधिहरुले स्थानियलाइ ग्यास चुल्हो बितरण गरेका थिए ।
यतिबेला रौतहटको गौर,इशनाथ,गरुडा, मौलापुर, यमुनामाई, देवाही गोनाही, बृन्दावन, गुजरा, राजपुर र कटहरिया लगायत जिल्लाका १८ वटै स्थानीय तहका ग्रामिण भेगका नागरिकहरु ग्यास चुल्हो थन्काएर गोबरको गुइठा बनाइ राखेका छन ।
यता चन्द्रपुर नगरपालिकाले आफनो नगर क्षेत्रमा करिब २ हजार भन्दा बढी बिधुतिय चुल्हो बितरण गर्न थालेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले जानकारी दिनुभएको छ ।
एक गैर सरकारी संस्थाको सहयोगमा चन्द्रपुर नगरपालिकाको १० वटै वार्डमा प्रति वार्ड २ सय वटाको दरले बिधुतिय चुल्हो बितरण गर्न थालिएको जसको लागी आवेदन फारम समेत संकलन गरिसकेको समेत नगर प्रमुख काफ्लेले बताउनुभएको छ । उच्च ग्यासको दरभाउ तथा अभाबलाइ मध्यनजर गदै बिधुतिय चुल्हो बितरण गर्न थालिएको समेत उहाँले बताउनुभयो ।






