जनशक्ति मावि गैंडाटारमा प्रथम विज्ञान प्रदर्शनी सम्पन्न

0
254

चन्द्रपुर, असोज ५
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ३ गैडाटारमा रहेको जनशक्ति माध्यमिक विद्यालयले पहिलो पटक विज्ञान प्रदर्शनी भव्य रूपमा सम्पन्न गरेको छ । आज आइतबार भएको विज्ञान प्रदर्शनीमा कक्षा ४ देखि १० सम्म अध्ययनरत १५० जना विद्यार्थीहरूले विज्ञानका विभिन्न प्रयोगात्मक तथा परियोजनात्मक कार्यहरू प्रस्तुत गरेका थिए । विद्यालयका अनुसार प्रदर्शनीको उद्देश्य विद्यार्थीमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप, सिर्जनशीलता, नवप्रवर्तन र समूहमा काम गर्ने क्षमता विकास गर्नु रहेको छ । आफ्नै प्रयास र प्रयोगमार्फत प्राप्त हुने सिकाइ दीगो हुने भएकाले यस प्रकारका कार्यक्रमले विद्यार्थीको अध्ययनलाई जीवन्त र प्रभावकारी बनाउन सहयोग पुर्‍याउने प्रधानाध्यापक रेणुका जीसीले बताउनुभएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमबहादुर भोलनले विद्यालय निरन्तर सबल बन्ने प्रयासमा लागेको उल्लेख गर्नुभयो । कार्यक्रमका बिशिष्ठ अतिथि चन्द्रपुर नगरपालिकाका वडा नं। ३ का अध्यक्ष बोधनाथ देवकोटाले प्रदर्शनीले विद्यार्थीको सिकाइमा दिगो प्रभाव पार्ने भएकाले यसलाई सराहनीय कार्य भन्दै आगामी वर्षमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।
प्रमुख अतिथि नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलले महिला प्रधानाध्यापकको कुशल नेतृत्व र विद्यालय परिवारको समन्वयले विद्यालयमा सकारात्मक परिवर्तन आएको बताउनु भयो । उहाले भन्नु भयो, “विज्ञान प्रदर्शनीले विद्यार्थीलाई सिर्जनशील, आत्मनिर्भर र अनुसन्धानमुखी बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । यसले बालबालिकाको सिकाइलाई दिगो बनाउँदै विज्ञान विषयमा उपलब्धि उच्च पार्नेछ । यो कार्यक्रम नगरकै नमुना कार्यका रूपमा स्थापित भएको छ ।” उहाले विद्यालयको समग्र विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here