Thursday, April 25, 2024

यसरी गर्न सकिन्छ निर्वाचनको उपयोग

ताजा / भरखरै प्राप्त

विश्वका अन्य लोकतान्त्रिक मुलुकको अभ्यासझैँ नेपाल पनि आज संघ र प्रदेशको चुनावी मैदानमा होमिएको छ। चुनावको माहोल तातेको छ। नेताहरु कसरी चुनाव जित्ने भनेर तानावाना बुन्ने होडमा छन् भने नागरिकमा चरम निराशा छाएको छ।

नेपाली राजनितिको विकास, परिवर्तन र संघर्षमा नागरिकहरुले भरपुर साथ,सहयोग अनि बलिदानी दिएकै हुन्। विभिन्न रुप तथा स्वरूपमा शासकीय पद्धति फेरिए। तर शासन गर्ने उच्च महत्वाकांक्षाका कारण व्यवस्था फेरिए पनि अवस्था फेरिन भने सकेन।

राज्य र नागरिकका आवश्यकता एकातिर छरपस्ट छन् भने राजनीतिकर्मीका आवश्यकता अर्कोतिर झन पेचिला देखिन्छन्। झुक्याउने र राज गर्ने विद्या आजको मुख्य राजनीतिक कला मानिन थालेको छ। यो नै नेपाली राजनीतिको मौलाउँदो तीतो यथार्थ हो।

विश्व समाजको गतिशिल परिवर्तन कुशल राजनितिवाट मात्र सम्भव भएको हो। राजनितिक परिवर्तनसँगै सामाजिक आर्थिक, मानविय साथै भौतिक विकासको अपेक्षा गरिन्छ। तर नेपामा त्यसो नभएर व्यवस्था परिवर्तन हुने तर अवास्था पुरानै रहने प्रवृत्तिको पुनरावृत्ति भइ नै रह्रयो। 

आज हामी आम नागरिकले निर्वाचनको यो पेचिलो परिवेशलाई अवसरको रुपमा लिनु आवश्यक छ। नेपालको प्राकृतिक स्रोत र मानव स्रोतको अधिकतम उपयोगको वैज्ञानिक आधार खोज्नुपर्छ। अनि मात्र आम नागरिकको सफल र सबल जीवनस्तर, रोजगारी र स्वरोजगारी साथै समग्र देशको विकासको कल्पना गर्न सकिन्छ।

नेपालमा हिजो हली,  गोठालो,  दास,  खेतालो, ज्यामी,  मजदुर,  भरिया, ढाक्रे लगायतका उपनामले चिनिने नागरिक आज काम गर्न विदेश जान्छन्। विदेशमा गर्ने काम पनि त्यस्तै प्रकृतिका हुन्। तर घर पर्किंदा नयाँ कपडा र कपालमा तेल घसेर आउँदा समाजमा हेपिनु परेको छैन। हिजोभन्दा फेरिएको परिवेश भनेको यत्ति हो।

अहिले गाँउघरमा मर्दा पर्दा काँध थाप्ने सहाराको खाँचो भएको छ। वयोवृद्धा, बालवच्चा, गर्भवती महिला लगायतका घर छोड्न नसक्ने र नमिल्नेहरु मात्र गाउँ घरमा छन्।

बालवच्चा पढाउने नाममा बच्चा च्यापेर तन्नेरी महिलाहरु शहरमा डेरा बस्ने कामले थुप्रै सामाजिक तथा पारिवारीक विचलन निम्त्याएको तथ्य घामझैँ छर्लङ्ग छ।

यस्ता पीडा र समस्या कसरी भए भनेर सोच्नको सट्टा आम नागरिकहरु निश्चित नेताको जय जयकार गाउनमा व्यवस्त छन। अहिले त नागरिकहरु भगवानको भन्दा आफू संलग्न दलको नेताको जितको प्रार्थनामा व्यस्त छन।

सबैका छोराछोरी काम गर्न विदेश जानैपर्ने, गाँउघर शून्यतमा परिणत हुँदै जाने, बालबालिका पढाउन अनि स्वास्थ्योपचारको लागि शहर पस्नै पर्ने अनि प्राकृतिक स्रोत साधन उपयोगविहीन बन्दै जाने लगायतका अवस्था किन भए र निराकरणको उपाय के हो भनेर स्पष्ट खाका प्रस्तुत गर्न नसक्ने नेतालाई चुनावमा उठ्नेबित्तक्कै हामीले नेता मान्नै पर्ने किन?

नागरिकले यति धेरै  विश्वास गरेर निर्वाचनमा अभिनन्दन गर्नुको महत्व जनताको करवाट संकलन भएको रकमलाई राष्ट्रिय बजेट नामाकरण गरि आफ्नो अनुकुलमा बाँडफाँड गर्ने कामलाई वैधानिकता दिन र उनीहरूलाई राजकीय आनन्द दिलाउने मात्र हो र?

नागरिकका क्षमता र हैसियत बुझेर नेताले राजनीतिक योजना बनाउँदा रहेछन्। आज जति पढेलेखे पनि या देश विदेश घुमे पनि नेपाली नागरिकको चेतनास्तर नै कमजोर देखिन्छ। विदेशमा बसेरसमेत फलानोलाई भोट भनेर सामाजिक सञ्जालमा चिच्याएको देखिन्छ।

विदेशमा हुनेहरुले स्वदेश बस्न पाउने आधार के के हुन्? अनि छोराछोरी पढाउन शहर पसेकाहरुले शहरको जस्तै गुणस्तरीय शिक्षा कहिले हाम्रै ठाउँमा पढाउन पाउछौँ? र त्यसका आधार के हुन भनेर निर्वाचनमा जित्नका लागि नागरिकसँग हारगुहार गर्दै होमिएका नेताहरुलाई सोध्न सक्नुपर्छ। रोजगार, स्वरोजगार अनि देशको समृद्धिको स्पष्ट आधार के के देख्नु भएको छ भनेर किन नसोध्ने?

आज हामी आम नागरिकले निर्वाचनको यो पेचिलो परिवेशलाई अवसरको रुपमा लिनु आवश्यक छ। नेपालको प्राकृतिक स्रोत र मानव स्रोतको अधिकतम उपयोगको वैज्ञानिक आधार खोज्नुपर्छ। अनि मात्र आम नागरिकको सफल र सबल जीवनस्तर, रोजगारी र स्वरोजगारी साथै समग्र देशको विकासको कल्पना गर्न सकिन्छ।

मेरो पार्टीमा लाग म जागिर दिउँला भनेर सारा युवा युवतीलाई अघि पछि लगाउने, झण्डा बोकाउने लगायतका कामले सबैलाई जागिर दिने कुरा असम्भव छ। यस्ता कार्यले नागरिकको उर्वर जीवन र राज्यको सुनौलो अवसर गुम्दै जान्छ।

आजको विकल्प गणतन्त्र हो र लोकतान्त्रिक पद्धति नै हो। यो शासकीय व्यवस्था हो। लोकतान्त्रिक अभ्यास आज विश्वले मागेको र प्रभावकारी विधि हो। तर यसको उपर्युक्त उपयोग हुन नसक्दा नेपालमा बाँदरको हातमा नरिवल हुन पुगेको छ।

सत्ता प्राप्त गर्न र लामो समयसम्म टिकिरहन विभिन्न सस्ता लोकप्रिय नारा तयार पारेर जनतालाई भ्रम छर्ने काममा नेताहरु अभ्यस्त छन्। नागारिकहरु  सबै दल र नेता यस्तै त रहेछन् नि भनेर निराश भावमा देखिन्छन्। अधिकांश नागरिक तत्कालका भोज भतेर र दुई चार सय दाममा चित्त बुझाएर भोट फाल्न विवश देखिन्छन्। तर, यो अन्तिम विकल्प भने होइन।

आजको राजनीतिक निकास र विकल्प भनेको शासक बन्नका लागि राजनीति नभई देश विकासको भावमा राजनीतिको विकास हुनु हो। दलका शीर्ष नेताले आफू मात्र सर्वेसर्वा नठानी विभिन्न विश्वविद्यालयका पोख्त र अनुभवी विज्ञहरूसँग अन्तर्किया गर्नुपर्यो। सफल देशका अभ्यास अध्ययन गर्नुपर्यो। देशका मुलभूत समस्या पहिल्याई समस्याको दिर्घकालीन समाधान र निकासको खोजिगर्नु पर्यो।

दीर्घकालीन र दूरदर्शी योजना बनाएर जनतासामु जानुपर्यो र विश्वासको वातावरण पनि सिर्जना गर्नुपर्यो।

राजनीतिकर्मीले देशका वास्तविकताको पहिचान गर्ने, सम्भावनाहरुको खोजी गर्ने, आवश्यकताको पहिचान गर्ने र जनतासँग सहकार्य गर्ने साथै नागरिकले पनि नेतृत्वलाई रचनात्मक सहयोग र खवरदारी गर्दै सहकार्य गर्नुको विकल्प छैन।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles