काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ ।
शनिबार बेलुकी यमदीपदान शुरु गर्नुपर्नेछ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरिजयन्ती र धनतेरस पर्व पनि आज नै परेको छ ।
‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो’उनले भने ।
यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उनले बताए । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
कात्तिक ७ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । अपराह्न ४ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।
सामान्यतया एक दिन अघि वा सोही दिन बिहान गाई तिहार मनाएर साँझमा लक्ष्मीपूजा मनाइन्छ। तर, यसपटक लक्ष्मीपूजाको भोलिपल्ट अर्थात् कार्तिक ८ गते मात्र गाई तिहार तोकिएको छ।
कार्तिक ७ गते साँझ ५स्०४ बजे औँसी तिथि सुरु हुने र ८ गते साँझ ४स्३३ मा समाप्त हुँदै छ। मध्यरातमा औँसी तिथि नपरेकै कारण लक्ष्मी पूजा अघिल्लो रात गर्नु पर्ने समितिको भनाइ छ। यस वर्ष गाईतिहारको दिन खण्डग्रास सूर्यग्रहण परेको छ ।
कार्तिक ९ गते म्ह पूजा गोवर्द्धनपूजा, बलिपूजा र गोरूपूजा तय गरिएको छ। र, कार्तिक १० गते भाइटीका तोकिएको छ।
बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए ।