गौर – रौतहटको परोहा नगरपालिका वडा नम्वर ४ स्थित एक इटाभटामा बन्धक बनाएर राखिएको अवस्थामा बालबालिका, महिला तथा पुरुष गरेर ३८ जना भारतीय नागरिकलाई उद्धार गरेर एसएसबीलाई रौतहट प्रहरीले विहिवार राति जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्राप्त भएको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय राजपुरबाट खटि गएको प्रहरी टोलीले परोहा नगरपालिका वडा नम्वर ४ स्थित अमन इटा उद्योगमा बन्धक बनाई अलपत्र काम गराउदै आएको अवस्थामा २० जना पुरुष र १८ जना महिला तथा बालवालिकाहरुलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
भारत उत्तर प्रदेश राज्यको समत जिल्ला अलियारपुर निवासी ३८ जनालाई उद्धार गरेर आवश्यक अनुसन्धान गरी भारत विहार सितामढी जिल्ला बैरगनियाका एसएसबीलाई जिम्मा लगाइएको जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी सुनिल मल्लले बताए । अमन इटा उद्योगमा ३८ जना कहाँबाट आयो र के प्रयोजनको लागि ल्याइएको सम्बन्धमा प्रहरीले गहन छानविन एवं अनुसन्धान कार्य सुरु गरेको तथा यदी बन्धक बनाएर काम गराउदै आएको थियो भने नेपालको प्रचलित कानुन बमोजिम कारवाही हुने उनले जानकारी दिए ।