चन्द्रपुर,३० असार
पछिल्लो समय रौतहटको वन जंगलको निगरानी गर्न ड्रोनको प्रयोग गर्न थालिएको छ । डिभिजन वन कार्यालय रौतहट अन्र्तरगत जंगलसहिया सव डिभिवन वन कार्यालय जंगलसहियाले चोरी तस्करी नियन्त्रण गर्नको लागी हिजोआज ड्रोन प्रयोग गर्न थालेको हो ।
बिगत ३ महिना देखी सो क्षेत्रको वन जंगलमा ड्रोनबाट नै निगरानी गरिदै आएको छ । ड्रोनबाट वनजंगलको निगारानी गर्न थालेपछि काठ,दाउरा,नदीजन्य पदार्थको तस्करी नियन्त्रणमा आएको सव डिभिजन वन कार्यालय जंगलसहियाका वन अधिकृत बिनोद जेठराले बताउनु भयो ।
ड्रोनको सहायताले १० किलोमिटर वनक्षेत्रको निगरानी सहजै गर्न सकिएको र वन संरक्षणमा ठुलो टेवा पुगेको वन अधिकृत जेठराको भनाइ रहेको छ । ड्रोनको प्रयोगले तस्कर पक्राउ गर्न पनि सहज भएको उहांले बताउनु भयो ।
ड्रोनको कारण धन्सारखोलाबाट हुने ढुगागिटीको तस्करी पनि नियन्त्रणमा आएको जेठराले बताउनु भयो । सो क्षेत्रका दाउराको नाममा सयौ साइकलहरु जंगलमा गएर सालको लाथ्रा काटेर लाने गदै आएका थिए । ति दाउराहरु रौतहटको बिभिन्न ईटा भट्टाहरुमा पुग्ने गरेका छन ।
ड्रोनबाट रौतहटको जंगलसहिया,चोचा,धन्सार तथा गैडाटार बनक्षेत्रको निगरानी गरिरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिनुभएको छ । अहिले एउटा मात्र ड्रोनले निगरानी गरेको र आउदो आर्थिक बर्षमा अरु पनि ड्रोन क्यामेरा माग गरेको उहाले जानकारी दिनुभएको छ । ड्रोनबाट काठ तस्करी नियन्त्रण ढुंगागिटी तस्करी नियन्त्रण जस्तामा प्रभाबकारी रहेको डिभिजन वन अधिकृत साहले बताउनु भयो ।
मधेश प्रदेशको कुन वन क्षेत्रको २५ प्रतिशत र नेपालको कुल वन क्षेत्रको ३.९६ प्रतिशत वन रौतहट जिल्लामा पर्ने जानकारी दिदै प्रमुख वन अधिकृत साहले यसको संरक्षणको लागी कुनै कसुर बाकी नराखेको बताउनु भयो ।
रौतहटमा ३० हजार एक सय ७० हेक्टर वन क्षेत्र छ । जसमा सरकारद्धारा ब्यबस्थीत वन आठ हजार २ सय ३१ ह्ेक्टर,३ वटा साझेदारी वनद्धारा ११ हजार नौ सय २७ हेक्टर,ब्लक फरेष्ट ब्यबस्थापन एक हजार ५२ हेक्टर,४३ वटा सामुदायिक वनद्धारा आठ हजार दुइ सय ५७ हेक्टर,४ वटा धार्मिक वनद्धारा ५१ ह्ेक्टर र निजी वनद्धारा ६ सय ५६ हेक्टर वनक्षेत्रको संरक्षण गरिदै आएको उहाले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्ष भित्र जिल्लाको बिभिन्न स्थानका १२ हेक्टर भन्दा बढी जंगलको अतिक्रमण भुभाग क्षेत्र हटाइ बृक्षारोपण गरेको समेत उहाले जानकारी दिनुभएको छ ।
यसैबिच डिभिजन वन कार्यालय रौतहटले चालु आर्थिक बर्षमा आठ लाख १८ हजार ७८ वटा बिभिन्न जातको बिरुवा उत्पादन गरेको समेत वन अधिकृत साहले जानकारी दिनुभएको छ ।






