कांग्रेस मधेश प्रदेशका प्रचार बिभाग प्रमुख गुप्ताको नाम रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ सिफारिस

0
24

रौतहट,६ पुस
नेपाली कांग्रेस रौतहट क्षेत्र नं.–१ क्षेत्रीय समितिले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ उम्मेदवारको रूपमा कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताको नाम पनि सिफारिस गरेको छ।
यो सिफारिसलाई कांग्रेसभित्र युवा नेतृत्व, समावेशी राजनीति र संघर्षशील व्यक्तित्वको सम्मानका रूपमा हेरिएको छ। पार्टी संगठन निर्माण, प्रचारप्रसार रणनीति र जनसम्पर्कमा निरन्तर सक्रिय रहँदै आएका गुप्ताले लामो समयदेखि कांग्रेसको आधार बलियो बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन्। क्षेत्रीय समितिका पदाधिकारीहरूका अनुसार, जनतासँग प्रत्यक्ष जोडिने शैली, सरल जीवनशैली र स्पष्ट राजनीतिक दृष्टिकोणका कारण गुप्ता क्षेत्र नं.–१ का मतदातामाझ लोकप्रिय बन्दै आएका छन्। उनको उम्मेदवारीले रौतहट–१ मा कांग्रेसलाई नयाँ उचाइ दिने विश्वास लिइएको समितिले जनाएको छ।
शारीरिक रूपमा अपाङ्ग भए पनि प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन लड्ने साहस, आत्मविश्वास र दृढ संकल्प गुप्ताको राजनीतिक यात्राको सबैभन्दा सशक्त पक्ष मानिन्छ। राजनीतिक विश्लेषकहरूका अनुसार, अपाङ्गता कमजोरी होइन भन्ने सन्देशलाई व्यवहारमै उतार्दै गुप्ताले समाजमा सकारात्मक सोच र प्रेरणाको उदाहरण प्रस्तुत गरेका छन्। एक केन्द्रीय सदस्यले भने, “समावेशी लोकतन्त्रको मर्मलाई आत्मसात् गर्ने हो भने नितेश कुमार गुप्ताजस्ता पात्र संसदमा पुग्नैपर्छन्।”
नितेश कुमार गुप्ता नेपाली कांग्रेसभित्र लगनशील, अनुशासित र सिद्धान्तनिष्ठ युवा नेताका रूपमा परिचित छन्। उनी राष्ट्रिय अपाङ्ग कोषका पूर्व सभापतिसमेत रहिसकेका छन्, जहाँ रहँदा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, अवसर र आत्मसम्मानका लागि प्रभावकारी पहलहरू गरेका थिए। बाल्यकालदेखि नै शारीरिक चुनौतीसँग जुध्दै शिक्षा, सामाजिक सक्रियता हुँदै राजनीतिसम्मको यात्रा तय गरेका गुप्तालाई स्थानीयवासीहरूले संघर्षबाट खारिएको व्यक्तित्वका रूपमा हेर्ने गरेका छन्।
उनको जीवनशैली सरल, पारदर्शी र जनमुखी रहेको स्थानीय नेताहरू बताउँछन्। महँगा देखावटीभन्दा टाढा रहेर जनताको समस्या सुन्ने, समाधान खोज्ने र संवादमा विश्वास गर्ने राजनीतिक संस्कार गुप्ताको विशेषता रहेको कांग्रेस कार्यकर्ताहरूको भनाइ छ। विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र समावेशी प्रतिनिधित्व उनका प्राथमिक राजनीतिक एजेन्डा मानिन्छन्। मधेस प्रदेशमा मात्रै होइन, राष्ट्रिय राजनीतिमा समेत पकड राख्ने र कांग्रेसभित्र उदाउँदो नेतृत्वका रूपमा चिनिएका गुप्ताको उम्मेदवारीले युवापुस्ता, अपाङ्गता भएका नागरिक र समावेशी लोकतन्त्रका पक्षधरहरूमा नयाँ आशा र उत्साह थपिएको छ।
यसैबिच मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादबको नाम पनि रौतहट क्षेत्र नं. १ को लागी नेपाली कांग्रेसबाट प्रत्यक्ष उमेदवारको लागी सिफारिस गरिएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको बैठकको निर्णयअनुसार जिल्ला कार्य समितिलाई पठाइएको सिफारिस पत्रमा प्रत्यक्ष तर्फ मुख्यमन्त्री यादब, रामेश्वर प्रसाद यादव, नितेश कुमार गुप्ता र सन्तु यादव सिफारिस भएको नेपाली कांग्रेस मधेश प्रदेशका प्रचार बिभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिएका छन ।
समानुपातिकतर्फ जनजाति, मधेशी, महिला, मुस्लिम, अल्पसंख्यक तथा खुल्ला समूहबाट गरी बिन्दु साहनी, रामकृपाल यादव, शान्ति देवी, भुवन गिरि क्षेत्री, शहनाज खातुन, निरजित सिंह, विवेक रवि र विजय सिंहको नाम सिफारिस भएको प्रचार बिभाग प्रमुख गुप्ताले जानकारी दिए ।
राष्ट्रिय सभा सदस्यका लागि चिरञ्जीवी प्रसाद सिंह (अल्पसंख्यक÷खुल्ला) र नरेन्द्र पासवान (दलित) सिफारिस गरिएको नेपाली कांग्रेसको रौतहट क्षेत्र नं. १ का क्षेत्रीय कार्य समितिका सभापति राम राय यादवद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here