रौतहट,११ माघ
आज भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेश प्रदेशबाट रौतहटका धर्मेन्द्र पासवान निर्वाचित भएका छन् । नेपाली कांग्रेसको दलित कलस्टरबाट निर्वाचित पासवालले ७ हजार ९०४ मतभार ल्याएका थिए।उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का शम्भु पासवान ले १ हजार ३७६ र जसपाकी चमेली देवी दासले २०९ मत भार पाएकी छन् ।
पासवान रौतहट जिल्लाको परोहा नगरपालिका–३ का बासिन्दा हुन् । शिक्षा क्षेत्रमा उनले राजनीतिक शास्त्रमा स्नातक पूरा गरेका छन् ।
उनी २०५२ सालदेखि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा सक्रिय छन् । पार्टी संगठनभित्र उनले विभिन्न जिम्मेवारी सम्हालेका छन् । तत्कालीन नारायणी अञ्चल तरुण दलको अञ्चल सदस्य भइसकेका पासवान दलित राजनीतिका पुराना नेता हुन् ।
नेपाल दलित संघको रौतहट जिल्ला अध्यक्षका रूपमा उनी दुई अवधि कार्यरत रहे । त्यसपछि नेपाल दलित संघको केन्द्रीय सचिवको जिम्मेवारी सम्हाल्दै हाल निवर्तमान केन्द्रीय सचिवको भूमिकामा छन् ।
लामो समय संगठन निर्माण र आन्दोलनमा बिताए पनि यसअघि राष्ट्रिय तहको अवसर नपाएको अनुभव उनीसँग छ ।निर्वाचित पासवानले राष्ट्रिय सभामा पार्टीभित्र सहकार्य गर्दै दलित समुदायले नपाएका अधिकारका लागि पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरे ।






