रौतहट,२० बैशाख
रौतहटको कटहरिया नगरपालिकामा दलित एकल महिलालाई बोक्सी भन्दै मलमुत्र खुवाएको आरोपमा प्रहरीले एकजनालाइ पक्राउ गरेको छ ।
कटहरिया नगरपालिका —९ डुमरियाटोलकी ५५ बर्षिय दलित महिलालाइ बोक्सी भन्दै मलमुत्र खुवाउने तथा कुटपिट गरेको आरोपमा सोही गाउँका ३० बर्षिय शंकर माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
पिडित महिलाले आज आइतबार ईलाका प्रहरी कार्यालय गरुडमा जाहेरी दिएपछि आजै प्रहरीले सोही गाउँबाट माझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकारी बिष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो ।
घटनामा संलग्न अन्यको पनि खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ बस्यालले बताउनु भएको छ ।
पिडित महिलालाई बोक्सी भन्दै गाली गलौज तथा लछार पछार, कुटपिट गर्नुका साथै मलमुत्र समेत खुवाई अमानवीय तथा अपमानजनक व्यवहार गरेको भनी प्रहरीमा जाहेरी आएपछि प्रहरीले तुरुन्त अनुसन्धान शुरु गरेर एकजना पक्राउ गरेको उहाँले बताउनु भयो ।
पिडित परिवारका अनुसार हिजो शनिबार स्थानिय गौरी शंकर साह कलवार लगायतकाहरुले ति एकल महिलालाइ यो बोक्सी हो यसले आफना नातेदारहरुलाई बिरामी बनाएको भन्दै गालीगलौज तथा लछारपछार पारी कुटपिट गरेका थिए ।
पीडितकी छोरीका अनुसार शनिबार साँझ करिब ७ बजे छिमेकी पुकार माझीको घरमा बिहेको अवसरमा पर्साबाट आएको जन्तीमा सहभागी एक १० वर्षीय बालक अचानक बिरामी भई बान्ता गरेपछि त्यसैलाई निहुँ बनाएर ‘जादुटुना गरेको’ आरोप लगाउँदै करिब १५÷२० जनाको समूहले आमा माथि आक्रमण गरेको आरोप छ।
घटनामा पुकार माझी मुसहर, राजेन्द्र माझी मुसहर, लक्ष्मी माझी मुसहर, शंकर माझी मुसहर, सुरेन्द्र ठाकुर लोहार र गौरी साह कलवार लगायत संलग्न रहेको पिडित पक्षको भनाइ रहेको छ ।






