निर्वाचन आचार संहिता बिपरित रौतहटका जनप्रतिनिधि उमेदवार संगै भोट माग्दै

0
608

चन्द्रपुर – निर्वाचन आयोगले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार तथा मत माग्न नपाइने भनेर आचारसंहिता जारी गरेको छ तर रौतहटका अधिकांश पालिकाका जनप्रतिनिधिहरु निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै आ– आफना दलका उम्मेदवारको पक्षमा खुलेर प्रचारप्रसारमा संलग्न रहेको पाइएको छ । रौतहटमा रहेको १८ वटा स्थानीय तहमध्ये अधिकांश पालिकाका निर्वाचित नगर प्रमुख, उपप्रमुख देखी लिएर वडा अध्यक्ष र सदस्यहरु समेत आफना पार्टी वा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि मतदाताको घरदैलोमा पुगेर मत मागिरहेको देखिएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा यहाँका स्थानीय तहहरुका कार्यपालिकाका सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिका र पालिका भन्दा बाहिर समेत गई उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भइरहेको पाइएको छ । नगरपालिका र गाउँपालिकाको कामकाज छाडेर विहान देखि राती अबेरसम्म जनप्रतिनिधिहरु आ– आफना प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुको पक्षमा मत माग्न व्यस्त हुने गरेका छन् । निर्वाचित जनप्रतिनिधिहरु कार्यालयमा नबसी दिनभरि चुनाव प्रचार प्रसारमा व्यस्त हुन थालेपछि कार्यालयको कामकाज प्रभावित भएको छ । जनप्रतिनिधिहरु कार्यालयमा बस्न छाडेपछि सेवा लिन आउने सेवाग्राहीहरु रित्तैहात घर फर्किन बाध्य भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारको प्रचारप्रसारमा लागेमा कारबाही हुने निर्वाचन आयोगले जनाएको छ तर जिल्लामा स्थानीय तहका अधिकांश कार्यपालिका पदाधिकारी र सदस्यहरू आ–आफना दलका उम्मेदवारको पक्षमा खुलेरनै प्रचारप्रसारमा संलग्न भइरहँदा पनि निर्वाचन आयोगको यसतर्फ ध्यानाकर्षण हुन सकेको छैन् । स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित स्थानीय तह बाहेकमा कुनै पनि दलको उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने आयोगले उल्लेख गरेको छ । त्यसरी प्रचारप्रसार गर्दा सरकारी सवारी सधान र स्रोतको प्रयोग गर्न नमिल्ने भनिएको छ । तर, निर्वाचन आचारसंहिता उल्लंघन गरी चुनाव प्रचारप्रसारमा स्थानीय तहका पदाधिकारी लागेको पाइएमा कारबाही गरिने निर्वाचन आयोगले उल्लेख गरेको भए पनि रौतहटका जनप्रतिनिधिहरु निर्वाचन आचारसंहिता उल्लंघन गरी चुनाव प्रचारप्रसार गर्दा समेत आयोगले अहिलेसम्म कसैलाई कारवाही गर्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here