भुक्तानी दिने प्रतिबद्धतापछि सडक डिभिजनको ताला खुल्यो

0
365

चन्द्रपुर – भुक्तानी दिने प्रतिबद्धतापछि सडक डिभिजनको कार्यालय चन्द्रनिगाहपुरको ताला बुधबार खुलेको छ । काम गरेको रकमको भुक्तानी माग्दै रौतहटका निर्माण व्यवसायीहरुले तीन दिनअघि चन्द्रपुर–४ स्थित सडक डिभिजन कार्यालयमा लगाएको ताला लगाएका थिए । जिल्लाभित्रका विभिन्न पुल, सडकलगायतका निर्माण गरेबापतको भुक्तानी नपाएको व्यवसायीहरुले असार ३१ गते सडक डिभिजन कार्यालयमा ताला लगाएका थिए । व्यवसायीहरुको तालाबन्दीपछि कार्यालयको कामकाज ठप्प थियो । निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष कृष्णदेव यादवले एक महिनाभित्र सडक डिभिजनले व्यवसायीहरुको रकम भुक्तानी दिने प्रतिबद्धतापछि ताला खोलेको बताए । ‘निर्माणको भुक्तानीका लागि हामीले पहिलेदेखि नै सडक डिभिजनलाई भन्दै आएका हौं,’ उनले भने, ‘एक महिनाभित्रमा सबै रकम भुक्तानी गर्ने भन्ने सहमति भएको छ । भएन भने फेरि आन्दोलनका कार्यक्रम गर्छौं ।’ निर्माण व्यवसायी तथा फर्मले चालु आर्थिक वर्षमा सम्पन्न गरेका विभिन विकास निर्माणबापत पेस गरिएको बिलको रकम भुक्तानी नदिएपछि विरोधमा उत्रनु परेको अध्यक्ष यादवले सुनाए । निर्माण व्यवसायी संघका प्रतिनिधिहरुले भुक्तानीको लागि दबाब दिन कार्यालयको बाहिर मुख्य प्रवेशद्वारमा टायर बालेर विरोध जनाएका थिए । विरोध भए पनि असार मसान्तमा भुक्तानी हुन सकेन । सडक डिभिजनले रौतहट र सर्लाहीमा संघीय सरकार भौतिक पूर्वाधार मन्त्रालयका विकास निर्माणका कार्यक्रमहरु संचालन गर्छ । दुई दर्जन निर्माण व्यवसायीको २६ करोडभन्दा बढी रकम भुक्तानी नगरेकाले बाध्य भएर सडक डिभिजनमा ताला लगाएको अध्यक्ष यादवले बताए । उनका अनुसार धुक्चु कन्स्ट्रक्सनको १० करोड, सगुनको ७ करोड, राजदेवी भक्तको ३ करोड र साह निर्माण सेवाको ३ करोड भुक्तानी लिन बाँकी छ । अन्य दुई दर्जन बढी व्यवसायीहरुले भुक्तानी नपाएको अध्यक्ष यादवले बताए ।
डिभिजन प्रमुख दरोगा प्रसाद साहले माथिबाट बजेट निकासा नदिएकोले समस्या भएको बताए । निकाशाको लागी आफुले पहल गरिरहेको समेत उनले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here