रौतहट,१२ जेठ
रौतहटको गढीमाइ नगरपालिकाको समनपुर घाट र हरैयाघाटबाट नदीजन्य पदार्थको चरम दोहन भएको भेटिएको छ ।
ति दुबै घाटमा ठेकेदार कम्पनीले मापदण्ड बिपरित नदीजन्य पदार्थको उत्खनन गरी चरम दोहन गरिरहेको स्थानियले जानकारी दिएका छन । समनपुरको बागमती नदिको पुल उत्तरमा हरैयाघाटको ठेक्का पृथ्बी निमार्ण कम्पनीले लिएको छ भने सोही पुल दक्षिण उमा जयसवाल र दिनेश साहले ठेक्का लिएका छन ।
ति दुबै घाटमा अहिले दिनरात स्काभेटर र टिपर चलिरहेको स्थानियले जानकारी दिए । स्थानियबासीले दिएको जानकारी अनुसार पुल उत्तर ४ वटा स्काभेटर चलेका छन भने पुल दक्षिण पनि ४ वटा स्काभेटरले भकाभक नदी उत्खनन गरिरहेका छन । नगरपालिकाले पुल उत्तर १ करोड ५ लाखमा र पुल दक्षिणमा १ करोडमा ठेक्का लगाएको छ ।
दुबै क्षेत्रमा माछा पाल्ने किसिमको ठुल्ठुला पोखरी तथा नदि बगिरहेको ठाउबाट नै बालुवा गिटी निकाल्ने काम भइरहेको पाइएको छ । नदीमा चरम दोहन भएपछि शुक्रबार स्थानियले केही बेर अबरोध पनि गरेका थिए ।
नदीजन्य पदार्थको अनुगमन गर्ने जिम्मा पाएको जिल्ला समन्वय समितिका पदाधिकारीहरु पनि कानमा तेल हालेर बसेका छन । अनुगमन समितिको गैर जिम्मेबारपनको कारण रौतहटको बिभिन्न खोलाहरुबाट नदीजन्य पदार्थको चरम दोहन भइरहेको छ । यसैबिच गढीमाइ नगरपालिकाका नगर प्रमुख श्याम यादबले चाडै नै सो क्षेत्रको अनुगमन गर्ने बताएका छन ।
नदीजन्य पदार्थ निकाशी गर्ने जेठ मसान्त सम्म मात्र रहेको नेपाल सरकारको प्राबधान छ ।