चन्द्रपुर,२४ जेठ
रौतहटको चन्द्रपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणको तयारीका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा विहिबार नगरपालिकाको सभाहलमा पालिका स्तरिय खोप समन्वय समितिको वैठक बसेको हो । चन्द्रपुर नगरपालिकाका स्वास्थ्य संयोजक राजेश ठाकुरले २२ वटा केन्द्र मार्फत खोप अभियानको रुपमा भएको बताउनुभयो । उहाँले नगर भित्रको वडालाई पूर्ण खोप सुनिश्चितता गरेपछि कार्यपालिकाको एजेण्डामा राखेर नगर सभाबाट पालिकालाई पूर्ण खोप सुनिश्चितता गर्ने प्रावधान रहेको जानकारी दिनुभयो । पालिकालाई पूर्ण खोप सुनिश्चितता भएपछि जिल्ला समन्वय समितिबाट प्रमाण पत्र प्राप्त हुने उहाँले उल्लेख गर्नुभयो । घरधुरीको सर्वेक्षण माघ, फागुन र चैतमा हुने र प्रत्येक बर्षको वैशाखमा पूर्ण खोप सुनिश्चितता घोषण गर्ने तालिका रहेको समेत उहाँले बताउनुभयो । नगर स्वास्थ शाखा प्रमुख ठाकुरका अनुसार यहाँ करिव ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाईसकेको समेत उहाँले जिकिर गर्नुभयो । १६ देखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरी खोप लगाउन उहाँले स्वास्थ्य संस्थाका प्रमुखहरुलाई आग्रह गर्नुभयो । खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिन तर्फ सबै सचेत भए दिगोपना सुनिश्चित हुने उहाँको भनाई छ । केहि बालबालिका नजिकैको अर्को स्वास्थ्य केन्द्र वा जिल्लामा पुगेर खोप लगाउने गरेको पनि पाईएको उहाँले चर्चा गर्नुभयो । यदपी खोप लगाउनबाट कोहि बञ्चित हुन नदिनका लागि यस तर्फ ध्यान केन्द्रित गर्न समेत अनुरोध गर्नुभयो । खोप अभियानका क्रममा कुनै किसिमको समस्या वा गुनासो भएमा वडा वा पालिकामा सम्पर्क गर्न उहाँले सुझाव दिनुभयो । पूर्ण खोप सुनिश्चितताको आधार, प्रक्रिया, रणनिति र योजना लगायतका बिषयमा कार्यक्रममा सहभागीहरुले जिज्ञासा राखेका हुन् ।