चन्द्रपुर,१४ असार
नेकपा एमालेका तत्कालीन महासचिब तथा जननेता मदन भण्डारीको ७३ औं जन्मदिनको अवसरमा अनेरास्ववियु रौतहट जिल्ला कमिटीले रौतहटमा दिप प्रज्वलन गरी मनाएको छ ।
शुक्रबार साझ रौतहटको चन्द्रनिगाहपुर मेन चोकमा आयोजित दिप प्रज्वलन कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सदस्य उद्धब प्रसाद रेग्मीले नेपालको राजनितिमा जननेता भण्डारीको अतुलनीय योगदान रहेको बताएका छन । भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद जबज अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको केन्द्रिय सदस्य रेग्मीले बताए । अनेरास्ववियुको जिल्ला संयोजक करण देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा रौतहटका नेताहरु तथा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।
वि.सं.२००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको निधन वि.स.२०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परी भएको थियो। जननेता मदन भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक थिए ।
विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ ।