रौतहट,३० जेठ
रौतहटको कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जयसवाललाइ कार्वाही गर्न प्रेस चौतारी नेपाल रौतहट शाखाले माग गरेको छ । समाचार लेखेकै कारण कटहरिया म्युजिकल एफएममा कार्यरत पत्रकार सागर संगम ठाकुरलाई बिहीबार दिउँसो नगरक्षेत्रमै रहेको त्रिशक्ति बोर्डिङ स्कुलमा बोलाएर मेयरले कुटपिट गरेको भन्दै चौतारीले मेयर जयसवाललाइ कर्वाहीको माग गरेको हो ।
प्रेस चौतारी रौतहट शाखाका अध्यक्ष अशोक कुमार पहाडीले एक बिज्ञप्ती जारी गदै मेयर जयसवालले पत्रकार माथि निर्मम तबरले आक्रमण गरेको हुदा यस्ता मेयरलाइ कानुन अनुसारको कार्वाहीको माग गरेका छन । मेयर जयसवाललको एक समुहले कटहरियामा रहेको त्रिशक्ति बोर्डिङ स्कुलमा आक्रमण गरी पत्रकार ठाकुर गम्भीर घाइते बनाएका छन । पत्रकार ठाकुरकोगरुडास्थित एक निजी अस्पतालमा उपचाररत छन् ।
घटनाको सुरुवात कटहरिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको विषयमा फेसबुकमा लेखिएको एक स्टाटसबाट भएको हो । कटहरिया म्युजिकल एफएमकै अर्का पत्रकार रविन्द्र प्रजापतिले लेखेको उक्त स्टाटसमा ठाकुरले कमेन्ट गरेका थिए । त्यही कमेन्टलाई आधार बनाएर मेयर प्रकाशले दुवै पत्रकारलाई स्कुलमा बोलाएका थिए । तर स्कुलमा पुगी प्रजापतिलाई नछोई ठाकुरमाथि मात्रै आक्रमण गरेका हुन् । ठाकुरमाथि कुटपिट गर्ने क्रममा मेयरसँगै आएका अन्य व्यक्तिहरूले समेत हातपात गरेको पत्रकार प्रजापतिले जानकारी दिएका छन् ।
कुटपिट मात्रै नभई मेयर अजय प्रकाशले पत्रकार रविन्द्र प्रजापतिलाई जथाभावी अपशब्द प्रयोग गरेको अडियोसमेत अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त अडियोमा प्रयोग गरिएको भाषा अत्यन्तै आपत्तिजनक र अमर्यादित देखिन्छ । यति मात्रै होइन, अडियो सार्वजनिक भएपछि मेयरले पत्रकार प्रजापतिलाई धम्की दिँदै उक्त अडियो डिलिट गर्न दबाब दिएको स्रोतले जनाएको छ । यो पहिलो पटक भने होइन, जब मेयर प्रकाशले पत्रकारमाथि आक्रोश देखाएका छन् । यसअघि पनि कटहरियास्थित चिनी मिलमा किसानहरू उखुको तौलमा ठगिएको भन्ने बिषयमा समाचार संकलन गर्न गएका पत्रकार कृष्ण तिवारीमाथि पनि मेयरले हातपात गरेका थिए । लगातार पत्रकारमाथि आक्रमण भइरहेकाले प्रेस चौतारी नेपाल रौतहटले घटनामा संलग्न मेयर अजय प्रकाशलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ । संस्थाले प्रेस स्वतन्त्रतामाथि भएको यो अमानवीय हमला र बर्बरताको गम्भीर विरोध जनाउँदै दोषीलाई कानुनी कठघरामा ल्याउन आग्रह गरेको छ । यस अघि पनि मेयर जयसवालको चिनी मिल भित्र पत्रकार कृष्ण तिवारी माथि आक्रमण भएको थियो ।