बर्दिबास,५ भदौ
नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावका बेलमा काम नलाग्ने, नेता कार्यकर्ताको कुनै अर्थ नभएको बताउनु भएको छ । नेकपा एमाले मधेस प्रदेशले विधान संशोधनको लागि बिहीबार महोत्तरीको बर्दिबासमा आयोजना गरेको सुझाव सङ्कलन बैठकमा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । महासचिब पोखरेलले अघि पछि एमाले हुने, चुनावको बेलमा कता भोट हाल्छ भन्ने ठेगान नहुने नेता कार्यकर्ताको कुनै अर्थ नभएको बताउनु भयो ।
राजनीतिक संघर्षको केन्द्रिय थलो निर्वाचन भएको बताउँदै अब चुनावमा काम लाग्ने नेता, कार्यकर्ता र पार्टी बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । त्यसकै लागि एमालेले पार्टी सदस्य र संगठित सदस्यको अवधारणा ल्याएको पोखरेलले बताउनुभएको छ ।
अहिले पार्टी र पार्टी नेतृत्वको विरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको उहाँले बताउनुभयो । पार्टी भित्रबाट नभएर पार्टी बाहिरकाले पार्टीको विरोध गरिरहेका उहाँले बताउनुभयो । मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यक रहेको उहाँले बताउनुभयो । ‘केन्द्र सरकार र प्रदेश सरकारले मात्र पुग्दैन, तपाईँहरू सबै नेता जुटे चुनाव जितिन्छ, जुटे जितिन्छ, फुटे हारिन्छ’, महासचिब पोखरेलको भनाइ छ ।
पार्टीको महाधिवेशनमा पार्टीलाई कसरी निर्णायक शक्ति बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिने उहाँले बताउनुभयो । मिसन २०८४ लाई केन्द्रित गरी पार्टीको अभियान अघि बढ्ने पोखरेलले स्पष्ट पार्नुभयो । लोकप्रिय हुनुको अर्थ राजनीतिमा सफल हुनु नभएको उहाँको धारणा छ । राजनीति लोकप्रियताले मात्र चल्ने नभई विचार, सिद्धान्त र आदर्शबाट चल्ने पोखरेलले बताउनुभयो । लोकप्रियताका माध्यमबाट चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति ठगीमा संलग्न भएकै कारण जलमा पुगेको पोखरेलका भनाइ छ । ६ वटा सहकारीबाट पैसा लिएर दुरुपयोग गरेको प्रमाण फेला परेपछि रास्वपा अध्यक्ष रवि लामिछाने अहिले जेलमा रहेको उहाँले स्पष्ट पार्नुभयो । रविको आफ्नै कर्मका कारणले अहिले उनी थुनामा छन, उहाँले भन्नुभयो । अहिले मुलुकमा शान्ति, समृद्धि, स्थिरता र सुशासनको लागि एमालेले सरकारको नेतृत्व गरेको उहाँले बताउनुभयो । आफ्नो स्वार्थका लागि समाजलाई उत्तेजित बनाउने काम नगर्न पनि पोखरेले आग्रह गर्नुभयो ।
पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताउनुभएको छ । नेकपा एमाले मधेस प्रदेशले विधान संशोधनको लागि बर्दिबासमा आयोजना गरेको सुझाव सङ्कलन बैठकमा बोल्दै महासचिव पोखरेलले विधान महाधिवेशनमा विधान संशोधनका लागि केन्द्रको प्रस्ताव तलसम्म पठाइसकिएकोले त्यसमा आवश्यक सुझाव दिन आग्रह गर्नुभयो । पार्टीमा उमेरहद, कार्यकाल र पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने कि नफर्कने भन्ने विषय पार्टीले टुङ्ग्याइसकेकोले अब त्यसमा बहस आवश्यक नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
अब नेकपा एमालेको राष्ट्रिय गन्तव्य समृद्ध नेपाल सुखी नेपाली भएको उहाँले बताउनुभयो । अब यो पार्टीका आकाङ्क्षा मात्र होइन लक्ष बन्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचिब रघुबिर महासेठ,मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ लगायतले धारणा राख्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्यहरु,स्थायी कमिटि सदस्यहरु,केन्द्रिय सदस्यहरु,प्रदेश कमिटिका सदस्यहरु,जिल्ला मधेशका आठै जिल्लाका अध्यक्षहरु, जनसंगठनका केन्द्रिय सदस्यहरु,प्रदेश अध्यक्षहरु,प्रदेश इन्चार्जहरुको सहभागिता रहेको थियो । प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब मनोज पौडेलले गर्नुभएको थियो ।






