शनिबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने

0
182

चन्द्रपुर- आउदो शनिबार रौतहटको चन्द्रनिगाहपुरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र चन्द्रनिगाहपुरको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । बिहीबार पक्रकार सम्मेलन गदै उक्त जानकारी गराइएको थियो । राजयोगिनी दादी प्रकाशमणीको १८ औँ पुण्य स्मृतिमा आगामी भदौ ७ गते बिहान ७ बजेदेखि २ बजेसम्म ओमशान्ति भवनमा नेपाल रेडक्रस सोसाइटी रौतहटको प्राविधिक सहयोगमा सम्पन्न हुने भएको हो ।
आयोजकका अनुसार यस कार्यक्रमलाई ‘विश्व बन्धुत्वको उदात्त भावना प्रवद्र्धन’ गर्ने उद्देश्यसहित विश्वव्यापी स्तरमा सञ्चालन गर्न लागिएको छ । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले सेवा विभागमार्फत देशभरी आगामी भदौ ६ देखि ९ गतेसम्म १ सय घण्टाभित्र १ लाख पाउण्ड रक्त संकलन गर्ने लक्ष्य राखेको छ, जुन नेपालमै नभई विश्वकै विशालतम् रक्तदान अभियान हुने अपेक्षा गरिएको छ ।
बिहिबार कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र चन्द्रनिगाहपुरकी संचालिका मैया बहनले रक्तदान जस्तो पवित्र कार्यमा सबैको सक्रिय सहयोग अपरिहार्य रहेको बताउनु भयो । उनले रक्तदानले जीवन बचाउनुका साथै समाजमा मानवता र बन्धुत्वको भावना जागृत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
त्यस्तै, पर्सा, बारा र रौतहटका प्रमुख छोटेलालले रक्तदान समाजलाई प्रेरणा दिने अभियान भएकाले यसमा सबैलाई सहभागी हुन आग्रह गर्नुभयो । उनले यस प्रकारका कार्यक्रमले अस्पतालहरूमा रगतको अभाव नहुने र आपतकालीन अवस्थामा जीवन बचाउन ठूलो मद्दत गर्ने बताउनु भयो ।
सो अवसरमा समाजसेवी सपुत बहादुर कार्कीले रक्तदानले निरोगी जीवनको पहिचान बनाउन मद्दत गर्ने उल्लेख गर्दै अभियानलाई सफल बनाउन सबैलाई आह्वान गर्नुभएको छ । उहाले रक्तदानलाई पुण्यदायी र मानव जीवनप्रति जिम्मेवारीबोधको प्रतिकका रूपमा व्याख्या गर्नुभएको थियो ।
सोही कार्यक्रममा पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्कीले रक्तदान अभियानलाई समाजलाई मानवताको बाटोमा जोड्ने महत्वपूर्ण प्रयासका रूपमा व्याख्या गर्दै यस अभियानमा सञ्चारकर्मीहरूको समेत सक्रिय भूमिका रहने धारणा राखेको थियो।
पत्रकार सम्मेलनमा स्थानीय सञ्चारकर्मीको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ । रक्तदान अभियानलाई नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लब, विभिन्न विश्वविद्यालय, कलेज तथा सामाजिक संस्थाहरूको सहकार्यमा सञ्चालन गरिने केन्द्रकी संचालिका मैया बहनले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here