रौतहट क्षेत्र नं. ४ मा कांग्रेसले बिधान बमोजिम क्रियाशिल सदस्यता बितरण नगरेको युवा नेता चौलागाईको गुनासो

0
205

चन्द्रपुर,१४ पुस
नेपाली कांग्रेसका युवा नेता तथा रौतहट जिल्ला कार्यसमिति सदस्य श्यामहरि चौलागाईंले जिल्लामा हाल वितरण भइरहेको क्रियाशील सदस्यता बिधिपुर्वक नभएको बताउनुभएको छ । रौतट क्षेत्र नंं ४ मा पार्टी विधानले तोकेको विधि, प्रक्रिया र मापदण्डको पूर्ण पालना नगरी सदस्यता वितरण गरेको युवा नेता चौलागाईले बताउनु भएको हो ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै चौलागाईंले नेपाली कांग्रेसको विधानअनुसार क्रियाशील सदस्यता वितरण स्पष्ट कार्यविधिमा आधारित हुनुपर्ने उल्लेख गर्नुभएको छ। तर व्यवहारमा भने वडा, नगर तथा क्षेत्रीय तहका केही पदाधिकारीहरूले विधानलाई बेवास्ता गर्दै आफ्नै रुचि र पहुँचका आधारमा सदस्यता वितरण गरेको उहाँको आरोप छ।
उहाँका अनुसार विधानले वडा कार्यसमितिबाट सिफारिस भई नगररगाउँपालिका कार्यसमिति हुँदै क्षेत्रीय कार्यसमितिमा पठाएर मात्र क्रियाशील सदस्यता प्रदान गर्ने व्यवस्था गरेको छ। तर रौतहट जिल्लामा यो प्रक्रिया पारदर्शी र विधिसम्मत रूपमा लागू हुन नसकेको उहाँको भनाइ छ। “क्षेत्रीय कार्यसमितिको बैठकमै विधानको रटन लगाउने तर व्यवहारमा त्यसको पालना नगर्नु पार्टीको दीर्घकालीन हित विपरीत हो,” चौलागाईंले उल्लेख गर्नुभएको छ।
चौलागाईंले विधान मिचेर गरिएको सदस्यता वितरणले संगठनभित्र असन्तुष्टि बढ्ने, इमानदार कार्यकर्ताको मनोबल घट्ने र पार्टीभित्र गुटबन्दी झनै सशक्त हुने खतरा रहेको चेतावनी दिनुभएको छ। उहाँले यस विषयमा तत्काल निष्पक्ष समीक्षा गर्न र विधानअनुसार सदस्यता वितरण सुनिश्चित गर्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभएको छ।
“क्रियाशील सदस्यता पार्टीको मेरुदण्ड हो। यसमै अनियमितता भयो भने महाधिवेशनदेखि लिएर नेतृत्व चयनसम्म प्रश्न उठ्छ,” उहाँले भन्नुभएको छ। चौलागाईंले पार्टीलाई बलियो र लोकतान्त्रिक बनाउन विधि, विधान र प्रक्रियाको सम्मान अनिवार्य रहेको धारणा व्यक्त गर्नुभएको छ।
उहाँले जिल्ला, प्रदेश तथा केन्द्रीय तहका नेतृत्वलाई रौतहट जिल्लामा भइरहेको क्रियाशील सदस्यता वितरणको प्रक्रिया छानबिन गर्न, गल्ती कमजोरी सच्याउन र सबै कार्यकर्तालाई समान अवसर सुनिश्चित गर्न आग्रह गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here