चन्द्रपुर,२४ बैशाख
रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालनमा रहेका लैङ्गिक हिंसा न्यूनीकरण परियोजनाको आज बिहीबार अनुगमन गरिएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा उक्त परियोजनाको चन्द्रपुर नगरपालिका वार्ड नं. २ को कुश्वारटोल तथा चन्द्रपुर—५ को नहरटोलमा संचालित गतिबिधिको अनुगमन गरेको हो ।
उक्त परियोजनाअन्तर्गत प्राप्त सहयोगबाट महिलाहरूले आयआर्जनका गतिविधि सुरु गरेपछि पारिवारिक सम्बन्धमा सुधार आएको चन्द्रपुर २ कुश्वारटोलकी शान्ता श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार आफूले आम्दानी गर्न थालेपछि श्रीमानले पनि व्यवसायमा सहयोग गर्न थालेका छन्, जसका कारण घरायसी विवाद र झगडा घटेको छ ।
इस्लामिक रिलिफ नेपालको सहकार्यमा ग्रामीण विकास केन्द्र नेपालले सञ्चालन गरिरहेको उक्त परियोजनाको अनुगमनका क्रममा सहभागीहरूले यस्ता कार्यक्रमले महिलाको सशक्तीकरणसँगै सामाजिक सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको आयोजक संस्था आरडिसी नेपालका कार्यक्रम संयोजक धर्मेन्द्र साहले जानकारी दिनुभएको छ ।
अनुगमन भ्रमणका क्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आर्थिक कमजोर मान्छेको सशक्तीकरण र सेवामा पहुँच विस्तार गर्न यस्ता परियोजनाहरू प्रभावकारी रहेको उल्लेख गर्नुभएको छ ।
परियोजनाले महिलाहरू आर्थिक रूपमा सशक्त बन्दै जाँदा घरायसी हिंसाका घटनामा कमी आएको देखिएको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभएको छ
अनुगमनम भ्रमणमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजाल,चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बद्री ढकाल, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्र्की,आरडिसी नेपालकी उपाध्यक्ष ममता कुमारी झा,सञ्चारकर्मी तथा ग्रामीण विकास केन्द्र नेपालका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।






