गरुडा,९ चैत
रौतहटको कटहरिया नगरपालिका–८ पिप्रापोखरियामा सापटी रकमको विवादले भयावह रूप लिँदा आमा–छोरीमाथि निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएका छन् ।नातामा पर्ने देवरलाई दिएको सापटी रकम माग्न जाँदा आमाछोरी सहित घरपालुवा पशु चौपाया समेतलाई क्रूर रूपमा यातना दिइएको घटना यतिखेर सार्वजनिक भएका हुन् ।पिप्रापोखरिया गाउँका ४५ वर्षीया भागमणी देवीमाथि उनका नातामा पर्ने ३५ वर्षीय देवर छोटेलाल यादवले आक्रमण गरेको छ । केही महिना अघि लिएको १ लाख २० हजार रुपैयाँ फिर्ता गर्ने विषयमा विवाद चर्किदा उक्त घटना भएको बताइएको हो ।
हिजो आइतबार ई–सेवा मार्फत आएको १० हजार रुपैयाँ लिन आएका छोटेलाल सँग भागमणीले बाँकी १ लाख १० हजार रुपैयाँ दिन आग्रह गरेपछि झगडा भएको थियो । त्यसपछि आक्रोशित छोटेलालले बाँसको लौरो प्रयोग गरी भागमणी र उनकी १० वर्षीया छोरी रबिता कुमारी माथि अन्धाधुन्ध कुटपिट गरेका थिए ।
निर्घात कुटाइबाट बालिका रबिताको देब्रे हात भाँचिएको छ भने भागमणीको हातमा गम्भीर चोट लागेको पिडितले बताइन् । उनको निर्घात कुटपिटबाट आमाछोरीका शरीरभरी निलडाम देखिएको छ ।
घटनाको क्रूरताले त्यतिमै सीमित नरही आक्रमणकारीले भैंसी र बाख्रालाई समेत कुटपिट गरी मर्नासन्न बनाएको पीडित पक्षले गम्भीर आरोप लगाए ।
घटनापछि भागमणीका बुवा झगरु यादव घाइते आमा–छोरीलाई तत्काल कटहरिया बजारस्थित निजी अस्पतालमा उपचारका लागि लगेका थिए । दुवैको प्लास्टरसहित उपचार भइरहेको छ ।
घटनालाई सामसुम पार्न एवं डरत्रास देखाउन पिडकले पीडित पक्षलाई गाउँकै एक जनप्रतिनिधिबाट उजुरी नगर्न दबाब र धम्की आएको दिइरहेको पिडित भाग्यमणीले बताइन् । “उजुरी नगर्नु, घटनालाई गाउँमै मिलाइदिन्छु” भन्दै दबाब दिइएको पीडिताले भनिन ।
ईलाका प्रहरी कार्यालय कटहरिया का प्रमुख सई धर्मेन्द्र पौडेलले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।






