रौतहट,८ साउन
जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाको सार्वजनिक बाटो, सडक, बिद्यालय, सरकारी कार्यालय लगायतका स्थानहरूमा सर्वसाधारण नागरिकहरूको जनस्वास्थ्यमा जोखिम बढ्न सक्ने गरी चर्को ध्वनीमा अभद्र र उच्छृंखल प्रकारको डिजे साउण्ड नबजाउन आग्रह गरेको छ ।
डिजे साउण्डले सामाजिक तनाव तथा द्वन्दको वातावरण श्रृजना हुने गरेको, समाजमा मानसिक तथा शारिरीक समस्या उत्पन्न भएको, झै–झगडाका घटनाहरू बढेको, बिद्यार्थीहरुको पठनपाठनमा, सरकारी कार्यालयहरुको कामकाजमा असर परेको र ध्वनी प्रदुषणले जनस्वास्थ्यमा प्रतिकुल असर पारेको भन्दै मंगलबार प्रेस नोट जारी गदै आजैबाट डिजे साउण्ड नबजाउन आग्रह गरेको हो ।
चर्को ध्वनीमा अभद्र र उच्छृंखल प्रकारको डिजे साउण्ड बजाएर समाजमा प्रतिकूल असर पार्ने कार्य गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत प्रहरीले प्रेस नोटमा उल्लेख गरेको छ ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा ११२ मा वातावरण प्रदुषित गर्न नहुने भन्ने व्यवस्थार सोहीदफाको उपदफा (२) मा अधिकार प्राप्त अधिकारीको इजाजत विना यान्त्रिक साधनबाट ध्वनी, रेडियोकर्मी विकिरण वा जोखिमपूर्ण फोहर मैलाको उत्पादन, प्रसारण ओसारपसार गर्न वा थुपार्न नहुने र सोही दफाको उपदफा (४) मा यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ । यसैगरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२४ मा सार्वजनिक उपद्रयाई गर्न नहुने व्यवस्था रहेको र सोको उपदफा (२) मा कसुर गर्ने व्यक्तिलाई रु २५,०००० (पच्चीस हजार मात्र) जरिवाना हुने व्यवस्था रहेको समेत प्रहरीले प्रेस नोटमा उल्लेख गरेको छ । वातावरण संरक्षण ऐन, २०७६ को परिच्छेद ३ को दफा १५ को उपदफा १ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै सवारी साधन, यन्त्र, उपकरण औद्योगिक प्रतिष्ठान, होटेल, रेष्टुरेन्ट वा अन्य स्थान वा मालवस्तु वा कुनै क्रियाकलापबाट हुने प्रदूषण नियन्त्रण गर्ने व्यवस्था रहेको र सो विपरित कार्य गर्नेलाई यसै ऐन बमोजिम न्युनतम ५ लाख रुपैँयाजरिवाना र क्षतिपुर्ति देखि अधिकतम ५० लाख सम्म जरिवाना तथा क्षतिपुर्ती भराउने कानुनी व्यवस्था रहेको समेत प्रेस नोटमा जनाइएको छ । ध्वनी प्रदुषणको कारण झिझ्याहट हुने,मानसिक समस्यामा वृद्धी,गर्भवति महिलाहरूमा गर्भ खेर जान सक्ने समस्या, मुटु रोगिहरूमा समस्या,कान सुन्न सक्ने क्षमतामा कमी आउने,वृद्ध वृद्धाहरूको स्वास्थ्यमा समस्या, ध्वनी प्रदुषणबाट बालवालिकाहरूमा रातिको समयमा बेचैन र अनिद्रा हुने,अनावश्यक अभद्र र उच्छृंखल गित संगितले समाजिक सदभावमा खल्ल पुग्ने,अस्पतालमा भएका बिरामीहरू र विद्यालयमा पढि रहेका विद्यार्थीहरू समेतमा असर पर्ने गरेको छ ।