रौतहट,९ माघ
कुनै बेला हरियो वन नेपालको धन भन्ने भनाई अहिले भनाइमै सिमित भइसक्यो। नेपालको धन हुनुपर्ने हरियो वन अहिले तस्कर वनमाफिया र भू माफियाको धनको रूपमा प्रयोग भइरहेको छ। राजनीतिक शक्ति र सत्ताको आडमा माफियाहरुले वनको जमिनमा रजगज गर्दै आइरहेका छन्। सर्वसाधारण जनताले एकचोइटो दाउरा लिन पनि सकस भइरहेको बेला माफियाहरुले भने वननै सखाप पारेर काठ तस्करी गरिरहेका छन्। आम सर्वसाधारण घाँस काट्न जंगल छिर्दा पनि कारबाहीमा परेका छन् भने माफियाहरुले वनको जग्गा नै कब्जा गरेर बस्ती बसाल्दा पनि कारबाही त टाढाको कुरा सामान्य सोधपुछ पनि गरिने गरेको छैन। यस्तै भएको छ रौतहटमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा माफियाहरूले वनको जग्गामा डोजर लगाएर बस्ती बसाल्न सुरु गरेका छन्। उनीहरूको यो कार्यलाई रोक्न स्थानीय जागरुक भएर विरोधमा उत्रिएका छन्।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको ममता सामुदायिक वनको क्षेत्रमा सोमबार डोजर लगेर सम्याउँदै बस्ती बसाल्ने प्रक्रिया सुरु गरिएको थियो । प्रत्यक्ष दर्शीका अनुसार केही मानिसहरू को समूहले डोजर लगाएर सो स्थान मा रहेका झाडी तथा ससाना रुखहरू काटेर फालिदिएको र घर बनाउनका लागि सम्म बनाउने काम गरेको हुन् ।
यसको सूचना पाए लगत्तै सामुदायिक वनका उपभोक्ता, स्थानीय र डिभिजन वन कार्यालय रौतहटको टोलीले सो डोजर लगाएको स्थानमा वृक्षारोपण गरेका थिए । साँझ अबेरसम्म उनीहरूले ५०० बढी बिरुवाहरु सो स्थानमा वृक्षारोपण गरेर घर फर्किएका थिए। अतिक्रमणकारीहरूले राति सबै बिरुवा उखेलेर फ्यालिदिए पछि स्थानीय आक्रोशित बन्दै दोषीकोलाई छानबिन गर्दै कारबाहीको माग गरिरहेका छन्। उनीहरूले राजनीतिक आडमा अतिक्रमणकारीहरूले वनको भूभाग कब्जा गर्ने नियत राखेको भन्दै दोषीको पहिचान गरी तुरुन्त कानुनको कठघरामा उभ्याउनुपर्ने माग राखेका छन्।
डिभिजन वन कार्यालय रौतहटको तथ्याङ्क अनुसार रौतहट जिल्लामा ३० हजार १७७ हेक्टर वन क्षेत्र रहेकोमा १ हजार ४२५. ८ हेक्टर चुरे क्षेत्र सहित ३ हजार १९०. ४ हेक्टर वन क्षेत्र अतिक्रमण भइसकेको छ । अतिक्रमणकारी रौतहट जिल्लाको मात्र नभएर छिमेकी जिल्ला मकवानपुर , सिन्धुली, सर्लाहीका पनि रहेका छन् । यसरी वन अतिक्रमण गर्नेहरु भूमिहिन, सुकुम्बासीहरु मात्रै नभएर हुकुम्बासीहरु पनि रहेका छन् । यहीं माघ २ गते राष्ट्रपति रामचन्द्र पौडेलद्धारा जारी भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ ले पनि वनको जग्गा कब्जा गरेर अतिक्रमण गर्ने , वस्ती बसाल्नेहरुलाई थप हौसला दिएको स्थानियको बुझाइ छ । सो अध्यादेश अनुसार सरकारले चाहे वनको जग्गा पनि व्यक्तिको नाममा लालपूर्जा बनाएर दिन सक्ने हुँदा माफियाहरुले पछि लालपूर्जा पाइहालिन्छ भन्दै वनको जग्गा तिब्र रुपमा अतिक्रमण गरेर वस्ती बसाउन खोजेको स्थानिय बताउँछन् । उनीहरुले यसको पछाडि जो कोही भएपनि उनीहरुलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
वन ऐन २०७६ ले राष्ट्रिय वन फाँड्ने वा वनक्षेत्रको जग्गा जोत्ने, खन्ने, खनिजकार्य उत्खनन् गर्ने, आवाद गर्ने, सडक तथा अन्य पूर्वाधार निर्माण गर्ने, घर वा छाप्रो बनाउने, व्यवसाय सञ्चालन गर्ने वा अतिक्रमण गर्ने काम गरे वा गराएमा पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ । त्यस्तो जग्गा राष्ट्रिय वनमा समावेश गरी सो जग्गामा बनाएको घर वा छाप्रो र प्रयोग भएका मेसिनरी औजार, साधन समेत जफत हुने र त्यस्तो कसुर गर्दा वन पैदावार हटाएको वा नोक्सानी गरेको भए गर्नेलाई सो बापत हुने सजाय समेत हुने व्यवस्था ऐनमा छ । सोही ऐनको परिच्छेद–१६ मा कसैले यो ऐन बमोजिम सजाय हुने कसुर गर्न लागेको छ भन्ने शङ्का लागेमा वा कसुर गर्दैका अवस्थामा फेला पारेमा वन सम्बन्धी काम गर्ने कर्मचारी वा सुरक्षाकर्मीले त्यस्तो कसुर हुन नपाउने प्रबन्ध गर्नु पर्ने र सो कामका लागि आवश्यक बल प्रयोग गर्न सक्ने अधिकार पनि प्रदान गरेको छ । राष्ट्रिय वन क्षेत्रको जग्गा कसैले आवाद गरेको वा त्यस्तो जग्गामा घर, छाप्रो बनाइसकेको भए पनि डिभिजनल वन अधिकृत वा निजले तोकेको वन अधिकृत वा वन सहायकले सो आवादी हटाउन वा घर, छाप्रो भत्काउन सक्ने र त्यस्तो क्षेत्रमा लगाएको बाली समेत जफत गर्न सक्ने विशेष अधिकार ऐनमा छ । कानुनमा अधिकार भएपनि डिभिजन वन कार्यालय र यसका कर्मचारीहरुले वन अतिक्रमण रोक्न असफल भएको स्थानिय बताउँछन् । यता डिभिजन वन कार्यालय रौतहट भने आफुहरुले अतिक्रमण गर्ने कसैलाई बाँकी नराख्ने र कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता दोर्याउँछ ।
स्थानियका अनुसार वन माफियाहरुले वनको जग्गा मासेर सर्वसाधरणहरुलाई मंहगो रकम लिएर बेच्ने गरेको स्थानिय बताउँछन् । ममता सामुदायिक वनले यस्तो आफ्नो वन क्षेत्रमा अतिक्रमण गरेको भन्दै ३ जनालाई कारवाहीको सिफारिस गरेको छ । सरकारले वन अतिक्रमणकारी, माफियाहरुलाई कारवाही नगर्ने हो भने वन सखाप हुन समय नलाग्ने जानकारहरु बताउँछन् ।