गौर,२२ माघ
भूमि समस्या समाधान आयोगका रौतहट जिल्ला अध्यक्ष अखिलेश्वर चौधरीले सोमवार एक कार्यक्रमका बीच पदभार ग्रहण गर्नुभएको छ ।
नापी कार्यालय गौरमा भूमि समस्या समाधान आयोगको जिल्ला अध्यक्षमा हालै नियुक्त हुनु भएका चौधरीलाई नापी कार्यालय गौरका प्रमुख मोहन महासेठले पदभार ग्रहण गराउनु भएको थियो ।
पदभार ग्रहण गर्दै भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष चौधरीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।भूमिहिन दलित र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थित गर्ने यो अन्तिम विकल्प अन्तिम आयोगको रुपमा नेपाल सरकारबाट निर्देश भएको अनुसार आफू पूर्ण रुपमा बचनबद्ध भई गम्भीरताका साथ काम गर्ने अध्यक्ष चौधरीले बताउनु भयो ।
राज्यको नीति एवं दिर्नेशनलाई आत्मसाथ गरेर कार्यालय प्रमुखहरु जो यस आयोगको सदस्य रहेको हुँदा एकदमै गम्भीरका साथ, विनम्रता पूर्वक कामको गतिलाई सघाउ पुराएर भूमिहिनको समस्या समाधान गराउनमा सहयोगको अपेक्षा गरेको समेत उहाले बताउनु भयो ।
आयोगको काम कारवाहीहरुमा तलमाथि भएमा मलाई दिशानिर्देश गर्न, तथा बीचबीचमा खवरदारी गरिदिन समेत अपेक्षा गरेको समेत चौधरीले बताउनु भयो ।
पदभार ग्रहण कार्यक्रममा भूमि समस्या समाधान आयोगका केन्द्रिय सदस्य आरती भण्डारी,नेकपा एमालेका केन्द्रिय सदस्य एवं रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ता,केन्द्रिय सदस्य कुन्दन कुशवाह,एमाले प्रदेश सदस्य बिर बहादुर गोले,जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनिष झा,नेकपा एमाले जिल्ला कमिटिउपसचिब अबधेश यादब,एमालेका पुर्व प्रदेश सदस्य खडग बहादुर बम्जन,नेपाल पत्रकार महासंघका रौतहट शाखाका उपाध्यक्ष डिल्ली बहादुर कार्की,सचिब गौतम श्रेष्ठ लगायत संचारकर्मी लगायतको उपस्थीती रहेको थियो ।