चन्द्रपुर,१८ कार्तिक
रौतहटको चन्द्रपुर नगरपालिकाको एक स्वास्थ्य संस्थामा बालबालिकाहरुलाइ दिन ठिक्क पारिएको भ्याक्सीनको म्याद नाघेको भेटिएपछि खोप दिने कार्य नै रोकिएको छ ।
चन्द्रपुर नगरपालिका वार्ड नं. ९ को डुमरिया स्वास्थ्य केन्द्रमा आज बालबालिहरुलाइ दिन ठिक्क पारिएको भ्याक्सीन नै म्याद नाघेको भेटिएको हो ।
आज मंगलबार नै चन्द्रपुर अस्पतालबाट ल्याएको जापानिज इन्सेफलाइटिक्स नामक भ्याक्सीन म्याद सकिएको भेटिएको सोही स्वास्थ्य केन्द्रका प्रमुख जयलाल पंडितले जानकारी दिएका छन ।
१२ महिना देखी २३ महिना भित्रका बालबालिकाहरुको लागी जापानिज इन्सेफलाइटिक्स नामक रोगको निरोधकको लागी लगाइने भ्याक्सीनको म्याद सकिएको भेटिएको उनले जानकारी दिए ।
सो भ्याक्सीनको म्याद अंग्रेजी मिति अनुसार सन २०२५ नोमेम्बर १ तारिखमा सकिएको देखिन्छ ।
सो भ्याक्सीन अंग्रेजी मिति अनुसार सन २०२५ नोमेम्बर ४ तारिखमा लगाउन तयारी गरिएको थियो ।स्वास्थ्यकर्मीहरुको चरम लापरवाहीले यसरी बालबालिकाहरुको ज्यान माथि खेलवाड भएको चन्द्रपुर नगरपालिका वार्ड नं. ९ का वार्ड अध्यक्ष नवराज देबकोटाले बताएका छन । यसबारे छानबिन हुने र दोषि कर्मचारीको कार्वाहीको लागी कार्यपालिकाको बैठकमा गम्भीर कुरा उठाउने वार्ड अध्यक्ष देबकोटाले बताए ।
स्वास्थ्य शाखाकै कर्मचारीको चरम लापरवाहीले यस्तो कार्य भएको समेत वार्ड अध्यक्ष देबकोटाको धारणा रहेको छ ।
यसैगरी चन्द्रपुर नगरपालिकका स्वास्थ्य शाखाका प्रमुख राजेश ठाकुरले यो गम्भीर गल्ती भएको स्वीकार गरेका छन । अस्पतालमा म्याद भएको भ्याक्सीन हुदा हुदै पनि कर्मचारीले गल्तीले म्याद नाघेको भ्याक्सीन ल्याएको स्वास्थ्य शाखा प्रमुख ठाकुरले बताए । यसबारे छानबिन हुने समेत ठाकुरको भनाइ रहेको छ ।
यता जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप अधिकृत अनिल कर्णले आफुले हिजो मात्रै प्रदेश कार्यालयबाट रौतहट जिल्ला भरीको लागी भ्याक्सीन ल्याएको जानकारी दिएका छन । आफुले बितरण गरेको भ्याक्सीनमा अंग्रेजी मिति २०२६ अप्रिल सम्म म्याद रहेको समेत कर्णले जानकारी दिएका छन ।
हरेक महिनाको १७,१८ र १९ गते रौतहटको चन्द्रपुर,बृन्दावन,गरुडा र गुजरा नगरपालिकाका बालबालिकाहरु खोप लगाउने कार्यक्रम रहदै आएको समेत खोप अधिकृत कर्णले बताउनु भएको छ ।
यसैबिच चन्द्रपुर ९ मा रहेको स्वास्थ्य चौकीमा अधिकांश औषधीहरु म्याद नाघेको भेटिएको छ ।यसबारे चन्द्रपुर अस्पताल तथा चन्द्रपुर नगरपालिकाका कर्मचारी गम्भीर हुनुपर्ने स्थानिय माग गरेका छन ।






