यस्तो छ एमाले उमेदवार रामजी साहको १६ बुदे रोडम्याप

0
158

चन्द्रपुर,१४ फागुण
रौतहट क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामजी साहले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो १६ बुँदे रोडम्याप सार्वजनिक गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, खेलकुददेखि क्षेत्रमा विद्यमान संरचनागत समस्यासम्म समाधान केन्द्रित योजनाहरू अघि सारेका छन्। साहले आफू विजयी भए रौतहट–४ लाई “सुसंस्कृत, शिक्षित र समृद्ध” निर्वाचन क्षेत्रको रूपमा रूपान्तरण गर्ने दाबी गरे।
सार्वजनिक प्रतिवद्धताअनुसार, क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन, सिकाइ गुणस्तर अभिवृद्धि गर्न र डिजिटल शिक्षा प्रणाली विस्तार गर्न उनले प्राथमिकता दिए। यससँगै पालिकास्तरीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई सुदृढ गर्दै आइसीयू तथा विशेषज्ञ सेवा सञ्चालन गर्ने, विपन्न नागरिकका लागि निःशुल्क तथा प्रभावकारी स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने योजनासमेत प्रतिवद्धतामा समावेश छन्।
साहले दीर्घकालीन रूपमा जरो गाडेको बेरोजगारी समस्यालाई समाधान गर्न रोजगारीका अवसर बढाउने र नयाँ उद्योग स्थापना गर्न अनुकूल वातावरण तयार पार्ने बताएका छन्। सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता ल्याउने, घर–घरमा पाइपधारा सुविधाको पहुँच पुर्‍याउने तथा कृषि उत्पादनलाई बजारसम्म सहज रूपमा पुर्‍याउने व्यवस्थामा ध्यान दिने उल्लेख छ।
क्षेत्रमा फैलिँदै गएको सुकुम्बासी समस्या समाधान, अव्यवस्थित बस्ती व्यवस्थापन, धार्मिक स्थलहरूको संरक्षण तथा पर्यटन प्रवर्द्धन, वनपैदावरको वैज्ञानिक व्यवस्थापन र डिजेलिङ प्लान्ट सञ्चालन जस्ता कार्यक्रम पनि साहका एजेन्डामा छन्। ग्रामीण सडक विस्तार, ढल व्यवस्था सुधार, पुल–पुलिया निर्माण तथा जलनिकास प्रणाली व्यवस्थित गर्ने कामलाई पनि उनले प्राथमिकतामा राखेका छन्।
युवातर्फ लक्षित योजनामा क्रिकेट, फुटबल, कराते, तेक्वान्दो लगायतका खेलका लागि एकीकृत प्रशिक्षण केन्द्र स्थापना, महिला फुटबल अकादमी निर्माण, पालिकास्तरीय खेलमैदान विकासजस्ता प्रतिवद्धता उल्लेखित छन्। साहले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका लागि समावेशी सामाजिक सुरक्षाको ढाँचा कार्यान्वयन गर्ने दाबी गरे।
स्थानीय बासिन्दाहरूलाई सम्बोधन गर्दै साहले भने, “रौतहट–४ लाई विकासको नयाँ दिशातर्फ लैजान अब योजनाबद्ध रूपमा काम गर्ने समय आएको छ। म जनतासँग गरेको प्रतिवद्धता ईमानदारिता र पारदर्शितासाथ पूरा गर्छु।”
उनको १४ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक भएपछि क्षेत्रका मतदाताबीच चुनावी चहलपहल झनै बढेको छ। स्थानीय विकासका विषयमा केन्द्रित प्रतिवद्धता भएकाले साहको योजना चर्चामा रहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here