चन्द्रपुर-रौतहटमा गत आर्थिक बर्ष २०८०÷०८१ मा २२ बालबालिका सहित ३२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट गौरले दिएको जानकारी अनुसार रौतहटमा नाबालक पुरुष १३ जना ,नाबालिका महिला ९ जना ,महिला ३ जना र पुरुष ७ जनाको पोखरी,खोला तथा नालामा डुबेर मृत्यु भएको छ । रौतहटमा पोखरी, नदी, तलाउ, नहर सहितका जलाशयमा डुबेर मृत्यु हुने क्रम पछिल्लो समयमा बढेको छ । यसबाहेक बाटोमा भएका खाल्डामा समेत डुबेर बालबालिकाले जीवन गुमाइरहेका छन् । प्रदेशका ग्रामीण क्षेत्रमा यस्ता घटना बढेको जिल्ला प्रहरी कार्यालय रौतहटका मुद्दा शाखाका प्रमुख प्रहरी निरिक्षक उमाशंकर गुप्ताले जानकारी दिएका छन । बढदो गर्मी र जनचेतनाको अभाबमा खोला,पोखरी तथा नालामा डुबेर मृत्यु हुनेको संख्या बढिरेको प्रहरी निरिक्षक गुप्ताले बताए । गर्मी छल्न कै लागी पोखरीमा पौडी खेल्न गएका एक युवकको पोखरीमा डुबेर ज्यान गएको छ । रौतहटको गढ़ीमाई नगरपालिका वाड नं. ६ सिंगारमन धर्मपुरका ठूलो राय यादवको १८ वर्षका छोरा राजु यादवको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । वीरनगरा–माधोपुर सडक खण्ड संग जोडिएको सिंगारमन जाने बाटो स्थित रहेको पोखरीमा शनिवार साझ अबेर नुहाउन गएका यादवको पौडी खेल्न नजानेर डुवेर मृत्यु भएको छ। अहिले चर्को गर्मि छ । गर्मी छल्न पोखरीमा नुहाउन जादा राजुको डुबेर मृत्यु भएपछि सिंगारमन धर्मपुर गाउँ नै शोकमा डुबेको छ । रौतहटको सामाजिक अवस्था हेर्ने हो भने हरेक गाउँमा पोखरी छन् । कुनै गाउँमा त दुईदेखि तीन वटा र त्योभन्दा बढी पनि पोखरी छन् । पोखरी यो समाजकै अंग हो । ग्रामीण क्षेत्रका मानिसले लुगा, भाडा धुने, नुहाउने, भैंसी सहितका चौपायालाई नुहाउने काम पोखरीमै हुन्छ । यस बाहेक सिंचाइका लागि प्रयोग गरिने नहरमा समेत मानिस नुहाउने र अन्य पानी चाहिने दैनिक कामकाज गर्दै आएका छन् । यस बाहेक सांस्कृतिक कारणले पनि मधेशका पोखरी समाजका लागि अनिवार्य ठाउँहरू हुन् जहाँ अर्घ दिने, नुहाउने, बत्ती बाल्ने लगायतका सांस्कृतिक कामहरू हुने गर्छन् । यही सामाजिक प्रक्रियाका कारण ठूलो मान्छेसँग जाँदाजाँदै बालबालिका पनि सानै उमेरमा पोखरीमा पुग्ने गर्छन् र कतिपय बेला यस्ता दुर्घटना हुने गर्छ । यस बाहेक मधेशको सामाजिक परिवेश अनुसार गाउँका स–साना बालबालिका खेल्दाखेल्दै पनि नजिकैको पोखरीमा पुग्छन् र बालसुलभ अज्ञानताको परिणाम ठूलो क्षति हुनपुग्छ । गर्मी मौसममा अत्यधिक गर्मी, वर्षामा बाढी, जाडोमा शीतलहरका कारण कतिपय व्यक्तिको ज्यान जाने गर्दछ । यी प्रकोपहरूलाई तीनै तहको सरकारले सम्बोधन गर्न बजेट विनियोजन गरे पनि डुबेर भइरहेको मृत्युलाई सबै निकायले नदेखे झैं गरेका छन् । विस्तारै विपत्को रूप धारण गर्दै गइरहेको यो घटनाबारे कसैले चासो दिएका छैनन् । प्रदेश सरकारले बनाएको विपत् व्यवस्थापन ऐनमा पनि यो विषय समावेश छैन । प्रदेश र स्थानीय सरकारले आफ्नो योजना तथा बजेट बनाउँदा यो विषयलाई महत्व दिएकै छैन । मानव बसोबास भएको नजिक ठाउँमा पोखरी खन्न नदिने, खाल्डा बनाउन नदिने र नालाहरू पनि व्यवस्थित गर्ने सम्बन्धमा स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरु बताउछन ।