चन्द्रपुर,५ कार्तिक
रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले अहिले स्थानियस्तरमा जन्मदर्ता र नागरिकतामा हुने समस्याको समाधान सहज रुपमा हुनुपर्ने बताउनु भएको छ । शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा महिला,कानुन र बिकाश मन्चको आयोजनामा भएको कानुनी पहिचान तथा ब्यक्तीगत घटना दर्ता सम्बन्धी छलफल कार्यक्रममा नगर प्रमुख काफ्लेले यस्तो बताउनु भएको हो ।
बिभिन्न कानुनी अडचन र सेवाग्राहीहरुले कागज पुराउन नसक्दा जन्मदर्ता तथा नागरिकताको सेवामा समस्या भइरहेको नगर प्रमुख काफ्लेले बताउनु भयो । जन्मदर्ता र नागरिकता नेपालीको नैसर्गिक अधिकार भएको हुदा यसमा राज्यले समेत सहजता अपनाएर सेवाग्राहीहरुको समस्याको समाधान गर्नुपर्ने नगर प्रमुख काफ्लेको धारणा थियो ।
उक्त अन्र्तरक्रियात्मक कार्यक्रममा चन्द्रपुर नगरपालिका वार्ड नं. २ का वार्ड अध्यक्ष दुत्त बहादुर थिङ,वार्ड नं. ३ का वार्ड अध्यक्ष बोधनाथ देबकोटा,वार्ड नं. ४ का वार्ड अध्यक्ष रबि राना मगर,वार्ड नं. ५ का अध्यक्ष निलहरी कोइराला,वार्ड नं. ६ का अध्यक्ष सहदेब केसी,वार्ड नं. ७ का अध्यक्ष बिष्णु उप्रेती,वार्ड नं. १० का अध्यक्ष टंकेश्वर चौधरीले नागरिकता सिफारिसमा भएका समस्याहरुको बारेमा बोल्नु भएको थियो । यसैगरी चन्द्रपुर नगरपालिकाका १० वटै वार्डका वार्ड सचिबहरुले पनि ब्यक्तीगत घटनादर्ताको समस्याको बारेमा धारणा राख्नुभएको थियो ।
अन्र्तरक्रिया कार्यक्रममा महिला,कानुन र बिकाश मन्चको तर्फ अधिबक्ता सुष्मा गौतमले कानुनी पहिचान तथा ब्यक्तीगत घटना दर्ता सम्बन्धी प्रशिक्षण दिनुभएको थियो भने अधिबक्ता नबिन श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । अन्र्तरक्रिया कार्यक्रममा अधिबक्ता गौतमले जन्मदर्ताको अधिकार ,नागरिकता प्राप्तीको अधिकारको बारेमा धारणा राख्नुभएको थियो ।
उक्त छलफल कार्यक्रममा चन्द्रपुर नगरपालिकाका बिभिन्न शाखा प्रमुखहरु,जनप्रतिनिधिहरु,संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको समन्वय अधिबक्ता दिलिप कोइरालाले गर्नुभएको थियो ।






