चन्द्रपुर,४ चैत
ब्यबसायिक रुपमा लगाइएको केरा खेतिको बिमा नहुदा रौतहटका किसानहरु मारमा परेका छन । रौतहटको बिभिन्न पालिकामा लगाइएको केरा खेतिमा बिमा नहुदा यहाका किसानहरु प्रकृति प्रकोपबाट मारमा परेका हुन ।हिजो सोमबार साँझ आएको भीषण हावाहुरीका कारण रौतहटको चन्द्रपुर नगरपालिकामा ठूलो क्षति पुगेको थियो । विशेषगरी वडा नम्बर ३ मा लगाइएको करिब डेढ करोड रुपैयाँ बराबरको केरा खेती पूर्ण रूपमा नष्ट हुँदा किसानहरू गम्भीर रुपमा आर्थिक मारमा परेका छन ।
चन्द्रपुर नगरपालिका–१ को पौराई,वार्ड नं. २ को जुडिबेला,वार्ड नं. ३ को गैडाटार,वार्ड नं. ४ को चन्द्रनिगाहपुर लगायतका गाउहरुमा हिजो आएको हावाहुरीले केराखेतीमा पुर्ण रुपमा क्षति पुराएको छ । चन्द्रपुर ३ को गैडाटार गाउँ केरा उत्पादनको मुख्य क्षेत्रका रूपमा परिचित रहेको छ । यहाँका अधिकांश किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । तर सोमबार आएको तीव्र हावाहुरीले हजारौँ बोट केरा ढालिदिँदा वर्षभरिको मेहनत एकैछिनमा नष्ट भएको स्थानीय कृषक दिपक गौतमले बताउनुभयो ।उहाँका अनुसार लगानी, श्रम र समय सबै गुम्दा किसानहरू आर्थिक रूपमा धराशायी हुने अवस्थामा छ ।
केरा खेती गर्ने किसानहरूले वर्षेनी प्राकृतिक विपत्तिको सामना गर्नुपरेको गुनासा गर्नुभयो । हावाहुरी, रोग र कहिलेकाहीँ जंगली जनावरको आक्रमणले समेत केराखेती नष्ट हुन्छ, तर बिमा नहुँदा सबै क्षति किसानले बेर्होनु परेको गौतम बताउनुहुन्छ ।
यस क्षेत्रका ब्यबसायिक रुपमा केरा खेती गर्ने किसानहरु बढेपछि केरा खेतीको बिमा गर्नको लागी पटक–पटक चन्द्रपुर नगरपालिकामा आवाज उठाउदा समेत सुनवाई नभएको उहाँले बताउनुभयो ।
बिमाको लागी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्ले तथा बिभिन्न बिमा कम्पनीलाई आग्रह गर्दा बेवास्ता गरेको समेत कृषक गौतमको गुनासो छ ।
गौतमले करिब ७ बिगाह जमिनमा केरा खेति गदै आइरहनुभएको छ । रौतहटमा करिब चार सय बिगाह भन्दा बढी जमिनमा केराखेति भएको र हिजो आएको हावाहुरीले रौतहटमा करिब तिन करोड भन्दा बढीको क्षति पुराएको समेत उहाँले जानकारी दिनुभयो ।
यस्तै चन्द्रपुर ३ कै अर्का किसान रमेश घिमिरेले केरा खेतिको बिमा भए किसानहरु सुरक्षित हुने बताउनु भएको छ । अन्य ठाउहरुमा केरा खेतिको बिमा भएको भएतापनि यहा बिमा नहुदा किसान नराम्रो मारमा परेको उहाले बताउनु भयो । अहिलेको युगमा हरेक बालीको बिमा अपरिहार्य भएको बताउनु भयो । उहाँले केरा खेतीको बिमा व्यवस्था गर्नुपर्ने माग दोहो¥याउनु भएको छ ।
तर बीमा कम्पनीहरूले जोखिम बढी हुने भन्दै केरा खेतीको बिमा गर्न आनाकानी गर्दै आएको उहाँको गुनासो छ। यसले गर्दा हरेक वर्ष प्राकृतिक प्रकोप आउँदा किसानहरू थप समस्यामा पर्ने गरेका छन् ।
यता चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले कृषकहरुको बालि बिमाको लागी नगरपालिका सबै किसिमको सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।
बालीको लागी बिमा अति आवश्यक भएको हुदा बिमाको लागी कुनै पनि किसिमको सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । हावाहुरीले केरा तथा मकैबालीमा पुगेको क्षतिको बारे दुःख ब्यक्त गदै नगर प्रमुख काफ्लेले बाली बिमा गर्नको लागी आफुबाट हुने सहयोग र नगरपालिकाबाट हुने सहयोग जुनसुकै समय गर्न सक्ने बताउनु भएको छ ।






